काठमाडौँ, वैशाख २७ गते । समाज कल्याण परिषद्को भृकुटीमण्डपस्थित भवन, हल र सटर भाडामा लिएका सघं सस्थाले तिर्नु पर्ने सात करोड ४०लाख रुपैंया मध्ये २० सङ्घ संस्थाले अपुरो बक्यौता तिर्दा ४० लाख ७५ हजार ७५४ रुपियाँ परिषद्ले असुल गर्न सफल भएको छ ।लामो समयदेखि बक्यौता नदिने सङ्घ संस्था र व्यक्तिलाई दुई पटक सार्वजनिक सूचना जारी गरेपछि उक्त रकम उठेको परिषदका भृकुटीमण्डप कार्यलय प्रमुख खगनाथ रेग्गमीले बताउनु भयो ।
उहाँले बक्यौता रहेका संस्थाको कार्यालयमा तालाबन्दी गरेपछि कुल सात करोड ४० लाख सात हजार ४०१ रुपियाँ बक्यौतामध्ये ४० लाख ७५ हजार ७५४ रुपियाँ उठेको जानकारी दिनुभयो । “बक्यौता नदिएका निकायमा तालाबन्दी गरेर उठाउने प्रयास ग¥यौँ । अहिलेसम्म ४० लाख ७५ हजार ७५४ रुपियाँ मात्रै उठ्यो । अझै करिब सात करोड रुपियाँभन्दा बढी उठाउन बाँकी छ, उहाँले भन्नुभयो, “सरकारले अध्यादेशमार्फत सदस्यसचिवसहित सबै पदाधिकारी पदमुक्त गरेपछि अन्योल भयो । नयाँ पदाधिकारी आएपछि सबै बक्यौता उठाउने छौँ ।” तालाबन्दी गरेर अवरोध गर्दासमेत बक्यौता नदिने निकायलाई नयाँ पदाधिकारी आएपछि कानुनबमोजिम असुलउपर गरिने उहाँले बताउनुभयो । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखा, नेपाल फोटो पत्रकार सङ्घ, काठमाडौँ सार्वजनिक पुस्तकालय, अपाङ्ग महासङ्घलगायत निकायबाट धेरै बक्यौता लिनु छ ।
उहाँका अनुसार कस्ले कति बक्यौता बुझाए?
तालाबन्दी गरेपछि सबैभन्दा बढी रकम रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले कुल ७३ लाख ४० हजार ९०१ रुपियाँमध्ये जम्मा २३ लाख बुझाउनुभएको छ । यस्तै कृष्णप्रसाद लामिछानेले कुल सात लाख १८ हजार, मनकला श्रेष्ठले तीन लाख ३६ हजार ६२० रुपियाँ, चित्रबहादुर पण्डित क्षेत्रीले दुई लाख १९ हजार ५६७ रुपियाँ, नारायण निरौलाले दुई लाख ७३ हजार १३ रुपियाँ, सेन्थेसिस एक्जिविसन एन्ड इभेन्ट्सले एक लाख रुपियाँ बुझाएका छन् ।








