कांग्रेस नेता अर्जुनरसिह केसीद्वारा राष्ट्रिय संविधान सुधार सुझाव आयोग गठन गर्न माग

काठमाडौँ ।नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले संविधान संशोधनका लागि पूर्वप्रधानन्यायाधीश वा संवैधानिक विज्ञको नेतृत्वमा ‘राष्ट्रिय संविधान सुधार सुझाव आयोग’गठन गर्न माग गरेका छन्।
प्रजातान्त्रिक विचार समाज, नेपालको साधारणसभामा बोल्दै नेता केसीले यस्तो बताएका हुन्। उनले संविधान संशोधन राष्ट्रिय सहमतिको आधारमा गर्नुपर्ने बताए। संविधान संशोधनलाई दलगत स्वार्थको विषय नबनाउन आग्रह गर्दै उनले संविधानले कुनै एक दलको चाहनाले मात्रै प्रतिनिधित्व गर्न नहुने बताए।
विगत १० वर्षको संवैधानिक अभ्यासमा देखिएका कमजोरी, त्रुटि र व्यावहारिक चुनौतीलाई आधार बनाएर व्यापक राष्ट्रिय बहस आवश्यक रहेको उनको भनाइ छ। राजनीतिक दलमात्र नभई नागरिक समाज, बुद्धिजीवी र अन्य सरोकारवालासँग राष्ट्रिय संवाद सञ्चालन गरेर सर्वपक्षीय सम्मेलनमार्फत संविधान संशोधनको साझा खाका तयार गर्नुपर्ने उनको धारणा रहेको छ ।
उनले सरकारले बनाएको संविधान बहस कार्यदलले संविधान संशोधनको काम गर्न नसक्ने उल्लेख गरे।

हतारमा गरिने संशोधनले केही वर्षभित्रै पुनः राजनीतिक टकराव निम्त्याउन सक्ने उनको भनाइ छ। उनले नेपाललाई द्वन्द्वको अखडा बन्नबाट जोगाउन सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिए।
केसीले भने, ‘संविधान भनेका कुनै पार्टीका इच्छा र पार्टीको अभिमतलाई मात्रै प्रतिनिधित्व गर्नुहुँदैन। १० वर्षमा हाम्रा व्यवहारमा देखिएका कमजोरी र आवश्यक परिवर्तनलाई केन्द्रबिन्दु गरेर राष्ट्रिय रूपबाट बहस चलाउनुपर्छ।
पूर्वप्रधानन्यायाधीशको अथवा त्यत्तिकै राष्ट्रले चिनेको संविधानविद् विज्ञको संयोजकत्वमा एउटा राष्ट्रिय संविधान सुधार सुझाव आयोग गठन होस्।’
उनले सरकारले संसद् अधिवेशनअघि ल्याएका अध्यादेशहरूको शृंखलाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै वर्तमान राजनीतिक अभ्यास र संविधान संशोधन प्रक्रियालाई राष्ट्रिय सहमतिबिना अघि बढाए मुलुक पुनः द्वन्द्वतर्फ जान सक्ने जोखिम रहेको बताए।

LEAVE A REPLY