काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र साउदी अरेबियाका विदेशमन्त्री राजकुमार फैसल बिन फरहान अल साउदबीच टेलिफोन वार्ता भएको छ ।
उनीहरूबीच बुधबार टेलिफोन वार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । वार्ताको क्रममा साउदी अरेबियाका विदेशमन्त्रीले नेपालको परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालेकोमा खनाललाई बधाई दिएका थिए ।
उनले परराष्ट्रमन्त्री खनालसँग नजिक रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको परराष्ट्र मन्त्रालयद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।
टेलिफोन वार्तामा परराष्ट्रमन्त्री खनालले पश्चिम एसिया क्षेत्रमा जारी द्वन्द्वको बीचमा नेपाली नागरिकहरूको सुरक्षा सुनिश्चित गरेकोमा नेपाल सरकारको तर्फबाट साउदी अरेबिया सरकारलाई आभार व्यक्त गरेका थिए ।
परराष्ट्रमन्त्री खनालले यस चुनौतीपूर्ण समयमा साउदी अरेबियासँग नेपालको ऐक्यबद्धतालाई पनि पुनः दोहोर्याएका थिए ।
“दुई मन्त्रीहरूले नेपाल र साउदी अरेबियाबीचको लामो समयदेखिको द्विपक्षीय सम्बन्धको बारेमा छलफल गर्नुभयो । द्विपक्षीय र बहुपक्षीय दुवै स्तरमा सहयोगलाई अझ सुदृढ पार्ने साझा प्रतिबद्धतालाई पुन दोहोर्याउनु भयो,” विज्ञप्तिमा भनिएको छ ।
दुई देशले अर्को वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको स्वर्ण जयन्ती मनाउने तयारी गरिरहेका बेला दुई मन्त्रीले नेपालमा निजी क्षेत्रको लगानी प्रवर्द्धनसहित व्यापार, लगानी र पारस्परिक हितका अन्य क्षेत्रहरूमा सहकार्य बढाउने उपायहरूबारे पनि छलफल गरेका थिए ।









