तनहुँ, जेठ २१ गते । तनहुँमा आफ्नै नाबालिका छोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार जिल्लाको एक स्थानीय तहमा बसोबास गर्ने ६४ वर्षीय पुरुषले आफ्नी १२ वर्षीया छोरीमाथि पटक–पटक जबरजस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । पीडित बालिकाको हित तथा गोपनीयतालाई ध्यानमा राख्दै घटनामा संलग्न व्यक्तिको नाम, ठेगाना तथा अन्य परिचय खुलाइएको छैन ।
प्रहरीका अनुसार जेठ ९ गते राति करिब ११ः३० बजे घटनाबारे जानकारी प्राप्त भएपछि तत्काल प्रहरी टोली खटाइएको थियो । टोलीले आरोपितलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ ।
घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी निरीक्षक दीपककुमार कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेका व्यक्तिविरुद्ध हाडनाता करणीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।









