महिला फुटबलको खस्कदो स्तर, नेपाल सेमिफाइनलमै रोकियो

यसपालिको साफ च्याम्पियनसिप पनि अपवाद हुन सकेन। यसपल्ट त नेपाल सेमिफाइनलमै रोकियो। त्यसको अर्थ नेपालले आफ्नो सदाबहार उत्कृष्ट दोस्रो टिमको छवि पनि गुमाएको छ।
वुमेन्स साफ च्याम्पियनसिप इतिहासमा नेपाल सेमिफाइनलमै रोकिएको यो दोस्रो पटक मात्र हो। यसअघि सन् २०१६ पछि पहिलो पटक अन्तिम चारमै रोकिएको थियो।
त्यसैले नेपाली महिला राष्ट्रिय टिमको यसपालिको भारत भ्रमण असफल भएको छ। खेलपछि खेलाडीहरूले जवाहरलाल नेहरू स्टेडियम छाड्दा सबैको शिर झुकेको थियो। कोही पनि एक आपसमा बोलिरहेका थिएनन्। प्रशिक्षक नवीन न्यौपाने स्तब्ध जस्तै देखिए।
सन् १९८६ देखि नेपालले अन्तर्राष्ट्रिय महिला फुटबल खेल्न थालेको हो भने अब यसले चार दशक छुने क्रममा छ। अहिलेसम्म यस अवधिमा नेपालले एउटै प्रतियोगिता जित्न सकेको छैन।
अधिकांश समय टिमको नियति भन्नु नै फाइनल पुगेर हार्नु मात्र रहेको छ। पछिल्ला तीन संस्करण घरमै हुँदा नेपालसामु उपाधि जित्ने बलियो अवसर थियो। अझ काठमाडौंमै भएका दुई संस्करण नेपालले जित्नुपर्ने नै थियो।
नेपाल निर्णायक नकआउट चरणको खेलमा लगातार पराजित छ। अब भन्ने के लाग्न थालेको छ भने यसले टिममा एक प्रकारको दबाब सिर्जना गर्न थालेको छ।
नेपाली फुटबल मैदानी खेलमा भन्दा बढी मैदानबाहिरको राजनीतिमा केन्द्रित हुन थालेको छ।
पछिल्लो पाँच वर्षमा नेपाली टिमको वास्तविक कप्तान को हो भनेर पनि अन्योल छाउन थालेको छ। अझ भनौं, कप्तान विवादले पनि टिममा असर परे देखिन्छ।
अहिलेका कप्तान एन्जिला तुम्बापो सुब्बाले सन् २०२२ मा पहिलो पटक टिमको नेतृत्व पाएकी थिइन्, जतिबेला प्रशिक्षक कुमार थापाले उनलाई यो अवसर साफ च्याम्पियनसिपमै दिएका थिए।
त्यसपछि विवादास्पद स्थितिमा प्याट्रिक डे वाइल्डले कप्तानी भूमिका सावित्रा भण्डारीलाई दिए।
यसपल्टको साफमा नेपालको कमजोर प्रदर्शनको एउटा ठोस कारण सावित्राको अनुपस्थितिलाई प्रशिक्षक न्यौपानेले स्पष्ट रूपमै मानेका छन्।
तिनै प्रशिक्षक न्यौपानेको नेतृत्वमा नेपालले ७ खेल खेलेको छ। त्यसमा ४ हार रहेको छ अनि तीन जितमात्रै। राष्ट्रिय टिमको प्रदर्शनमा जितमाथि हारको प्रतिशत बढेको छ। यसबीच नेपालले ७ गोल गरेको छ, त्यही ९ गोल खाएको छ।
सन् २०१५ मा नेपालले प्रशिक्षक डे वाइल्डको नेतृत्वमा एसिया कप छनोटमा राम्रोे फुटबल खेलेको थियो, त्यो आक्रामक थियो अनि आकर्षक पनि।

LEAVE A REPLY