काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको संस्थाक महासचिव पुष्पलालको आज ४८ औं स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । नेकपा एमाले लगायत नेपालका विभिन्न कम्युनिष्ट घटकहरुले विविध कार्यक्रम गरी दिवस मनाउन लागेका छन् ।
विसं १९८१ असार १५ गते रामेछापमा पिता भक्तलाल र आमा तुलसीकुमारीका माहिला छोराका रूपमा जन्मिएका पुष्पलालले प्रवासमा बसेर नेकपाका गतिविधि अगाडि बढाएका थिए । उनी शहीद गङ्गालालको भाइ हुन् ।
पुष्पलालले कार्लमाक्स र फेडरिक एङगेल्सद्वारा लिखित ‘कम्युनिस्ट मेनिफेस्टो’ को पहिलो पटक नेपाली भाषामा अनुवाद गर्नुका साथै विभिन्न कृति र लेखमार्फत नेपाली समाजको वर्ग विश्लेषण गरेका थिए ।
विसं २००६ वैशाखमा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर उनले भारतको कोलकातामा नेकपा स्थापना गरेका थिए ।
नेकपा स्थापना गर्नुअघि विसं १९९८ मा उहाँले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासंँग मिलेर नेपाली प्रजातान्त्रिक सङ्घ गठन गरेका थिए ।
उनले नेपाली कांग्रेसलगायत प्रजातान्त्रिक शक्तिसंँग मिलेर संयुक्त जनआन्दोलन गरी पञ्चायती व्यवस्था परास्त गर्नुपर्छ भन्ने मत राख्थे । उनको विसं २०३५ साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारका क्रममा निधन भएको थियो ।









