सम्पादकीय
श्रावण महिनालाई मध्य वर्षामास पनि भनिन्छ । यस समयमा अविरल वर्षा हुने र बाढी, पहिरो र डुबान जस्ता समस्या निम्तिन सक्ने हुँदा यसबाट आफंै सचेत रहि समस्यामा नपरौं । समस्यामा परेर उद्दारको अपेक्षा गर्नुभन्दा बेलैमा होसियारी अपनाउनु नै बुद्धिमानी काम हुने छ । यदि कोही कसैले सचेतना अपनाउदा अपनाउदै वा अन्जानमा समस्यामा परेमा व्यक्ति, समाज र सरकार समेतले समस्यामा परेकालाई उद्दार गर्न जरुरी छ ।
अहिले पहाडमा बाढीपहिरो र तराईमा डुबान हुने क्रम जारी छ । यसबाट कतिपय तराईका बस्ती डुबानमा परेका छन् भने कतिपय पहाडी भेगमा पहिरो जाने क्रम चलिरहेको छ । यसबाट हुनसक्ने भौतिक क्षतिपूर्ति सम्बन्धित निकायले गर्ने भए पनि तत्काल सजगता अपनाउदै ज्यान जोखिम हुनबाट बच्नु र बचाउनु पहिलो आवश्यकता हो । सरकारले पनि समस्यामा परेकालाई उद्दार गर्न टोली नखटाएको त
छैन । तर सबै ठाउँमा एकै चोटी समस्या आइपरे सबैतिर उद्दार गर्न सक्ने र भ्याउने अवस्था आउदैन । यस्तो अवस्थामा आफु सुरक्षित रहि अरुलाई पनि सुरक्षित बनाउनु महानता हो । कतिपय व्यक्तिहरुमा सहयोग र उद्दारको भावनामा खडेरी परेको हुन्छ । समस्या अरुलाई मात्र पर्छ, आफुलाई पर्दैन भन्ने संकुचित धारणा छ भने त्यो गलत धारणा हो । यसबाट अलग रहि समस्यामा परेकालाई सहयोग गर्ने प्रवृत्तिको विकास गर्नु मानव धर्म हो । धर्म मन्दिर धाएर र दान गरेर मात्र हुँद्यैन । वास्तविक धर्म भनेको अप्ठ्यारोमा परेकालाई उद्दार गर्नु वास्तविक धर्म हो ।
दैवीप्रकोपमा परेर कति गास, बाँस विहिन भएका छन् । कतिपयको ज्यान विपत्तीमा परेर अनाहकमा गइरहेको छ । कतिपयको उर्वर भूमि वगरमा परिणत भएको छ । घरघडेरी, पशुपञ्छी बगाएर लगेको छ । यस्ता पीडितहरुलाई सक्नेले उद्दार सहयोग गर्नुपर्छ ।
बाढी पहिरो र डुबान पछिल्ला वर्षहरुमा मात्रै भएको होइन, विगतदेखि नै हुँदै आएको दुःखद घटना हो । यसबाट पाठ सिकेर बेलैमा सजगता अपनाउन सके भविष्य सुनौलो हुने कुरामा द्विविधा छैन । बेलैमा सजगता अपनाउन नसक्दा अकालमा ज्यान गुमाउनु परेको र भौतिक सम्पत्तिको जोखिम मोलिरहनु परेको तितो यथार्थता हामीबीच रहेको छ । त्यसैले अब समस्यामा नपरौं, परेकालाई उद्दार गरी बचाऔं । आफ्नो धर्म र कर्म पुरा गरौं ।








