यी हुन् सहकारीका आरोपीत ठगहरुः

काठमाडौं । काठमाडौँमा सञ्चालित स्क्वायर बचत तथा ऋण सहकारीका अध्यक्षसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त सहकारीका अध्यक्ष बासुदेव मान जोशी, सचिव सुवर्ण सेलालिक र सदस्य धर्मरत्न पाछेँलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।
स्क्वायर बचत तथा ऋण सहकारीका सञ्चालकहरूले ७ करोड ४० लाख ८७ हजार रकम अपचलन गरेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता एसपी होविन्द्र बोगटीले जानकारी दिए । प्रहरीले दिएको जानकारी अनुसार पक्राउ परेका ६६ वर्षीय बाशु देवमान जोशी कुलेश्वरका स्थानीय, ६७ वर्षीय सेलालिक काठमाडौँ–२५ केलटोल र सदस्य ५८ वर्षका धर्मरत्न पाछेँ नरदेवीका नागरिक रहेका छन् । उक्त सहकारीले बचतकर्ताहरुलाई निश्चित अवधिभरीमा साँवा र ब्याज समेत फिर्ता गराउने भन्दै सहकारीमा रकम बचत गर्न लगाएका थिए । तर पछि बचतकर्ताको रकम फिर्ता नगरी सहकारी बन्द गरेपछि उजुरीका आधारमा प्रहरीले अनुसन्धान अगाडी बढाएको थियो ।

यस्तै काठमाडौँको माछापोखरीमा मुख्य कार्यालय रहेको मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष र सीइओसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उपाध्यक्ष बासुदेव भट्ट, सचिव तथा सीइओ इन्द्र प्रसाद गेलाल र सदस्य शरद कुमार अधिकारी छन् ।

आरोपीहरूले सहकारीको २१ करोड २ लाख ८४ हजार रकम अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । आरोपीहरुबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान पुरा गरेर सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

मेगा ड्रिमका संचालकहरुविरुद्ध २१ करोड २ लाख ८४ हजार बिगो मागदावी लिनुपर्ने रायसहित सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए । बागमती प्रदेशस्थित संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयले मेगा ड्रिमका सञ्चालकहरूलाई पक्राउ गरेर कानुनी कारबाही गर्न ४ मंसिर २०८० मा पत्राचार गरेको थियो ।

LEAVE A REPLY