सर्वोचले थामिदियो देवकोटाको पद, अहिले विहान १० वजे पुनः शपथ लिने तयारी

पोखरा । सर्वोच्च अदालतले प्रदेशसभा सदस्य पद थमौती गरिदिएपछि समाजवादी पार्टी नेसपाका सांसद फणिन्द्र देवकोटा फेरि मन्त्री बन्ने भएका छन् ।उनले अहिले विहान साढे १० बजे पद तथा गोपनीयताको शपथ लिने तयारी छ ।
गएको जेठ २८ गते उनले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए । त्यसको भोलिपल्ट देवकोटालाई ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्रीमा नियुक्त गरिएको थियो ।
नेसपाको सांसद भए पनि माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथौडाबाट प्रतिस्पर्धा गरेर निर्वाचित हुँदै उनी प्रदेशसभा सदस्य बनेका हुन् । उनले पाण्डेलाई विश्वासको मत दिएपछि दलले कारबाही गर्‍यो । र, मन्त्री बनेको केहि दिनमै जेठ ३२ गते उनले सांसद पद गुमाएका थिए ।
माओवादीको कारबाहीपश्चात् देवकोटा सर्वोच्च पुगेका थिए । असार १० गते सर्वोच्चले उनको सांसद पद रिक्त गर्ने सभामुखको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दियो । सर्वोच्चको आदेशसँगै पद फिर्ता पाएका देवकोटालाई मुख्यमन्त्री पाण्डेले फेरि सोही मन्त्रालयको जिम्मेवारी दिन लागेका हुन् ।

LEAVE A REPLY