एपीएफ ह्वीलचियर बास्केटबल च्याम्पियन

काठमाडौं । गोकर्णेश्वर न.पा. अत्तरखेलस्थित बौद्ध इन्टरनेशनल स्कुलमा सम्पन्न पारा विशेष खेलकुद प्रतियोगिता अन्र्तगत ह्वीलचियर बास्केटबलको उपाधि पुरुषतर्फ एपीएफ क्लब र महिलातर्फ सुदूरपश्चिम प्रदेशले जितेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना तथा नेपाल स्पाइनल कोर्ड इन्जुरी खेलकुद संघको व्यवस्थापनमा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।
नकआउट चरणमा भएको खेलमा पुरुष तर्फ भएको पहिलो खेलमा एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई २८–३५ को अन्तरले सजिलै पराजित गर्दै सेमिफाइनलको यात्रामा अघि बढेको थियो । त्यस्तै सेमीफाइनलमा गण्डकी प्रदेशलाई पनि फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा पुगेको एपीएफले बागमती प्रदेशलाई ३९–२० को

अन्तरले विजयी भई उपाधि जितेको थियो ।
त्यस्तै महिलातर्फ कर्णाली प्रदेशलाई हराउँदै फाइनल पुगेको सुदूरपश्चिमले कोशी प्रदेशलाई १५–१० को अन्तरले जित निकाल्दै उपाधि जितेको थियो ।
पुरूषतर्फ गण्डकी र महिलातर्फ लुम्बिनी तेस्रो हुन सफल भयो ।
उपाधिका लागि एपीएफबाट प्रेमबहादुर वि.क.ले महत्वपूर्ण भूमिका खेले । उनले यो प्रतियोगिताभर कुल ४ वटा थ्री पोइन्टर बास्केट गर्न सफल भए । उनै प्रेम उत्कृष्ट खेलाडी तथा सर्वाधिक बास्केटकर्ता समेत बने ।
त्यस्तै महिला तर्फ भने तुल्सी थापा मगरले उत्कृष्ट खेल प्रदर्शन गरे । उनी उत्कृष्ट खेलाडी समेत बने । त्यस्तै सर्वाधिक बास्केटकता भने ऐश्वरी क्षेत्री बने ।
विजेतालाई राखेपकी सदस्य एवं प्रतियोगिता संयोजक पेमा डोल्मा लामा, बागमती प्रदेश सभासद् लक्ष्मी घिमिरे र नेपाल स्पाइनल कोर्ड इन्जुरी खेलकुद संघकी अध्यक्ष देवी आचार्यले पुरस्कार वितरण गरेका थिए । विजेता टाेलीले २० हजार, १५ हजार, १० हजार नगदसहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरेका थिए ।

LEAVE A REPLY