काठमाडौं । कांग्रेस र एमालेको सहमतिमा बनेको नयाँ सरकारमा मन्त्रालयको भागभन्डाको विषय सहमतिमा पुरा भएको छ । कांग्रेस र एमालेको सहमति अनु्सार विभाजन गरिएको मन्त्रालयअन्तरगत कांग्रेसले गृह, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास, स्वास्थ्य तथा जनसंख्या, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, वन तथा वातावरण र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय पाएको छ ।
यस्तै नेकपा एमालेले अर्थ, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाएको छ । मन्त्रालयको जिम्मेवारी सम्हाल्ने मन्त्रीहरुको भने टंङ्गो लागि नसकेको नेताहरुको भनाइ छ । मन्त्रीहरु छनोटको आन्तरिक काम सकिएपनि सिफारिस हुन बाँकी रहेकाले भोली बिहानसम्म मन्त्रीहरुको नाम टंगो लगाउने कांग्रेस र एमालेको तयारी रहेको छ ।
यस्तै नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला र महामन्त्री गगन थापा पक्षबाट मन्त्रीका लागि चार जनाको नाम सिफारिस गरिएको छ । नेता शेखर कोइराला पक्षका एक केन्द्रीय सदस्यले चार जनाको नाम पार्टी सभापति शेरबहादुर देउवालाई बुझाइएको जानकारी गराए । उनका अनुसार प्रदीप पौडेल, रामनाथ अधिकारी, हृदयराम थानी र तेजुलाल चौधरीको नाम सभापतिलाई बुझाइएको हो ।
शेखर–गगन पक्षले आफ्नो समूहबाट चार जना मन्त्री पाउनुपर्ने समूहको बैठक बसेर निर्णय आइतबार बिहान गरेको थियो । उक्त समूहबाट मन्त्रीका लागि चर्चामा रहेका सहमहामन्त्री जीवन परियारको नाम छुटेको स्रोतले जनाएको छ ।








