सबै दललाई साथमा लिएर संविधान संशोधन हुन्छः देउवा

काठमाडौं । यतिबेला संविधान संशोधनका बारेमा राष्ट्रिय राजनीतिमा चासो र चर्चा रहेको छ । यसै मेसोमा कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनका लागि सबै राजनीतिक दलहरुलाई साथमा लिएर अघि बढ्ने बताएका छन् । लोकतन्त्रप्रति प्रतिबद्ध कांग्रेस र एमालेले संविधान संशोधनका लागि गरेको सहमति सबै दललाई साथमा लिएर अघि बढाउनका लागि भएको देउवाको भनाई छ ।
नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक स्वर्गीय प्रदिप गिरीको स्मृतिमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै देउवाले ठूलो दुई दलबीचको संविधान संशोधन गर्ने सहमतिलाई अन्य दलहरुले आफ्नो खिलापको रुपमा लिन नहुने स्पष्ट पार्नुभयो । कांग्रेस सभापति देउवाले संविधान संशोधनको क्रममा उपराष्ट्रपतिलाई नै राष्ट्रिय सभाको अध्यक्ष बनाउन सकिने विषयमा पनि अन्य दलको सहमति भए आफुहरुले सो विषयमा पनि संविधान संशोधन गरेर अघि बढ्न तयार रहेको
बताए ।
उनले भने– ‘बहुलवादमा आधारित प्रजातान्त्रिक समाजवाद उन्मुख सिद्धान्तको आधारमा हामी अघि बढिरहेका छौं । अहिले पनि संविधान संशोधनको विषयमा ओलीजी र मेरोबीचमा सहमति भएको हो । केही कुराहरु छन् । त्यसमा नौलो कुरा केही छैन । सबैसँग सल्लाह गरेर गर्ने कुरा हो ।’ सभापति देउवाले दुई ठूला पार्टीबीचको सहमतिमा आउनु मुलुकका लागि आवश्यक रहेको पनि स्पष्ट पारे ।

LEAVE A REPLY