दुर्गा प्रसाईको बीएन्डसीले पायो औपचारिक स्वीकृति

काठमाडौँ । दुर्गा प्रसाईको बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिले चिकित्साशास्त्रको स्नातक तह एमबीबीएसमा ५० जना विद्यार्थी अध्यापन गराउने औपचारिक स्वीकृति पाएको छ ।
पहिलोपल्ट यसै शैक्षिक वर्षमा ५० जना विद्यार्थी पढाउन पाउनेगरी चिकित्सा शिक्षा आयोगले सिट निर्धारण गरेसँगै बीएन्डसीमा एमबिबिएसको अध्ययन हुने भएको हो ।
विर्तामोड नगरपालिका वडा नं। ५ विर्तामोडमा चिकित्साशास्त्रको स्नातक तहमा अध्यापन गराउने उद्देश्यले विसं २०७१ फागुन १८ गतेदेखि ३०० शय्याको अस्पतालसहित बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालि सञ्चालनमा आएको थियो ।
नेपाल सरकारबाट विसं २०६४ सालमै मनसाय पत्र प्राप्त गरेर प्रालिले एमबीबीएसका विद्यार्थी पढाउनका लागि सम्पूर्ण पूर्वाधार स्थापना गरिसकेपछि पनि अध्यापनको स्वीकृति पाउन लामो अवधि कुर्नु परेको थियो ।
सर्वोच्च अदालतले विसं २०८० चैत्र १३ गते बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनका लागि परमादेश जारी गरेको थियो । सोही परमादेशका आधारमा काठमाडौं युनिभर्सिटीले सम्बन्धन प्रदान गरेको हो ।

LEAVE A REPLY