मोवाईल व्यवसायि महाँसंघद्वारा देशभर भिजिबिलिटी बन्द गर्ने घोषणा

काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासंघले आजबाट देशभर सामसुङ नेपालका मोबाइल फोनको भिजिबिलिटी बन्द गर्ने घोषणा गरेको छ ।
व्यवसायीले उठाएको मुद्दालाई बेवास्ता गरेको र कार्यक्रम नै बिथोलिन पुगेको भन्दै व्यवसायीहरुको छाता संगठन महासंघले सामसुङ नेपालका विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
सुदूरपश्चिमको धनगढीमा गत भाद्र २० गते सामसुङ नेपालले सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका मोबाइल व्यवसायीका लागि लक्षित गर्दै आयोजना गरेको रिटेल मीट कार्यक्रममा व्यवसायीहरुले मार्जिनको बिषय उठाउँदा कार्यक्रम नै भाडिएको थियो ।
नेपाल मोबाइल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष भरत भट्टराईले महासंघ केन्द्रले उठाएको विषय प्रदेश संरचनाबाट उठ्नु स्वभाविक भएको र उठेका मुद्दालाई समन्वय गर्नुपर्नेमा कार्यक्रम आयोजकले त्यसलाई सम्बोधन गर्न नसक्नु दुःखद भएको बताए ।
‘व्यवसाय सम्बन्धि कुनै पनि बिषय कार्यक्रमका शिलशिलामा उठ्छन, मार्जिनको बिषय त केन्द्रको चासोको विषय नै थियो,त्यो स्वभाविक पनि हो, कार्यक्रममा उठेका विषयलाई सामसुङ नेपालले सम्बोधन गर्नु पर्नेमा वातावरण झन बिथोल्ने अवस्था बन्यो, यो सुखद होइन,’ महासंघका केन्द्रीय अध्यक्ष भट्टराईले भने । ।
धनगढीमा आयोजित रिटेल मीटमा व्यवसायीहरुले मोबाइल बिक्री गर्दा प्राप्त गर्ने मार्जिन बढाउन आग्रह गरेका थिए ।
तर सामसुङ नेपालका प्रतिनिधिहरुले भने सो विषयका लागि कार्यक्रम आयोजना नगरिएको भन्दै व्यवसायीहरुलाई जुन कार्यक्रमका लागि बोलाइएको त्यो बाहेक अन्य विषयमा छलफल नै नहुने जवाफ दिएका थिए ।
महासंघका सुदूरपश्चिम अध्यक्ष सुरेश सापकोटाले आयोजकले व्यवसायीहरुलाई अपमानित व्यवहार गरेकाले त्यसपछि व्यवसायीहरु कार्यक्रम नै बहिष्कार गरेर हिडेको बताएका थिए ।

LEAVE A REPLY