काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बाढीपहिरोपीडितप्रति संवेदनशील भएर सरकारले काम गरिरहेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले चाडपर्व प्रारम्भ हुन लागेका बेला बाढीपहिरोबाट देश र जनताले भोग्नुपरेको अकल्पनीय परिस्थितिप्रति सरकार संवेदनशील रहेको उल्लेख गरे । पीडितलाई राज्यका निकायबाट सक्दो सहयोग गर्नुपर्छ भन्नेमा कसैको विमति नरहेको उनले बताए ।
“देशका विभिन्न स्थानमा एकैपटक बाढीपहिरोबाट मानवीय क्षति भयोे, सडक सञ्जाल विच्छेद भयो, कैयौँ नागरिक घरबारविहीन भएका छन् । यस्तो जटिल अवस्थामा सरकारले सम्बन्धित निकायलाई परिचालन गरेर सहायता परिचालन गरिरहेको छ,” मन्त्री गुरुङ भने ।
उनले दसैँतिहारमा यातायात सेवा सहज ढंगले सञ्चालन गर्न सरकार कटिबद्ध रहेको र सडक विभागसँगको समन्वयमा अवरोध भएका स्थानमा युद्धस्तरमा काम भइरहेको बताए ।








