ताप्लेजुङ्गस्थित पाथीभरामाताको दर्शन गर्न जानका लागि तीर्थ यात्रा सहज बनाउन केवलकारको नितान्त जरुरी देखिएको छ । पाथीभरामाताप्रति अधिकांश युवायुवती र वृद्धवृद्धाको विश्वास जागेका कारण केटाकेटी देखि वृद्धवृद्धासम्म ताप्लेजुङ्गको ठाडो उकालोमा ज्यादै कष्टका साथ यात्रा गरिरहेका छन् । हिड्न सक्ने हिडेर र नसक्ने बोकिएर भए पनि पुण्य प्राप्ति गर्न जाने र आउनेको लस्कर निकै लामो देख्न सकिन्छ । तीर्थ यात्रामा पुण्य कमाउन आफ्नै खर्च र आफंै हिडेर आउने जानेले मात्र पुण्य प्राप्ति गर्न सक्ने जनविश्वास पनि त्यतिकै छ ।
केवलकारको निर्माणले आन्तरिक तथा विदेशी पर्यटक बढाउने प्राय निश्चित जस्तै छ । केवलकार निर्माणले पाथिभरा क्षेत्रका केही होटल व्यवसायीलाई आर्थिक बाधा हुन सक्ने भए पनि अधिकांश नागरिकलाई तीर्थयात्रा गर्न सहज हुनाको साथै राज्यलाई आय स्रोतको दर्बिलो बाटो बन्न सक्दछ । अहिले यात्रा असहज भएकै कारण पाथीभरा जान चाहने लाखौं आन्तरिक तथा बाह्य पर्यटक जान सकिरहेका छैनन् । यसले अर्थतन्त्र निर्माणमा बाधा पु¥याईरहेको छ । केवलकार निर्माणले पर्यटकहरुको संख्यामा क्रमशः वृद्धि हुँदै जाने र अर्थ आर्जनमा टेवा पुग्ने निश्चित नै छ । गोर्खा मनकामना जानका लागि केवलकारले जसरी सहजता प्रदान गरेको छ त्यसरी नै पाथीभरा माताको दर्शनमा पनि सहजता पुग्ने देखिन्छ ।
केवलकार निर्माण गर्ने क्रममा गत कात्तिक २३ गते ताप्लेजुङ्गमा विकासप्रेमी र विकास विरोधीबीच झडप नै भयो । जुन झडप निन्दनीय थियो । स्थानीय, प्रदेश र संघीय सरकारबीच गहन छलफल गरी केवलकार जति सक्दो छिटो निर्माण गर्न आवश्यक छ । निर्माण कार्य थाल्न जति ढिलो हुन्छ त्यति विकासमा पछि परिन्छ भन्ने कुराको हेक्का जनप्रति र बुद्धिजीवी वर्गले राख्न सक्नु पर्दछ । विकास विरोधीहरुले पनि आफ्नो साँघुरो सोचलाई फराकिलो पार्दै विकासमा बाधा होइन सहजता थप्दै जानु पर्दछ । जसले सबैको भलो हुनेछ । केवलकार सञ्चालन पछि पाथिभराको पहिलो ठाडो उकालो बाटोमा होटल र अन्य व्यापार व्यवसाय गरी बसेका व्यापारीहरुलाई सरकारले पनि वैकल्पिक आयस्रोतको बाटो देखाइदिनु आवश्यक छ । होइन भने केवलकार सञ्चालक पश्चात त्यहाँका व्यवसायीले के गर्ने त रु









