काठमाडौं , सत्तारूढ दल नेकपा एमालेले काठमाडौं महानगरपालिकाले पठाएको जरिबानासहतिको पत्र बुझ्न अस्वीकार गरेको छ।
आईतवार पार्टी केन्द्रिय कार्यालय च्यासल पुगेको महानगरपालिकाको टोलीलाई नेकपा एमाले केन्द्रिय कार्यालयले आफूहरु आयोजक नभएको भन्दै पत्र बुझ्न अस्वीकार गरेको हो।
शुक्रवार दरबारमार्गमा भएको जागरण सभाको आयोजक नेकपा एमाले जिल्ला काठमाडौं, नेकपा एमाले जिल्ला ललितपुर र नेकपा एमाले जिल्ला कमिटी भक्तपुर भएकाले आयोजकहरुलाई नै पत्र बुझाउन एमालेले आग्रह गरेको छ।
शुक्रवार एमालेले गरेको जागरण सभामा सडक पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरले जरिबाना पत्र लेखेको थियो। एमाले केन्द्रिय कार्यालय सचिव भीष्म अधिकारीले चिठी बेठिक ठाउँमा आएको बताए। नेकपा एमाले केन्द्रिय कार्यालय उक्त कार्यक्रमको आयोजक नभएकाले आयोजकलाई नै चिठी बुझाउन आग्रह गरे।
उनले भने, ‘यो चिठी बेठिक ठाउँमा आइपुग्यो, यो चिठीको आयोजक नेकपा एमाले केन्द्रिय कार्यालय होइन। महानगरले सामान्य कुरा के बुझ्नुपर्छ भने को आयोजक हो भन्नेकुरा थाहा पाउनुपर्छ। यो चिठी बुझाउन यसरी जे हर्कत गरिएको छ, एकदमै बेठिक भएको छ। मेयर सावले जे कुरा गरिरहनुभएको छ, नेपालमा सायद कुनैपनि कार्यालयमा चिठी बुझाउन जाँदा यस्तो तरिकाले आइँदैन। जो आयोजक हो, आयोजकलाई लगेर चिठी बुझाउनु होला।ु








