काठमाडौं । चीनको ४ दिने औपचारिक भ्रमण सकेर स्वदेश फर्किए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफमा बिआरआर्य परियोजना ऋण नभएर अनुदान भएको दावी गर्नुभएको छ । ओलीले चीन भ्रमणमा जानुभन्दा पहिले नै ऋण नलिने भनिसकेको र ऋणको बारेमा चीन भ्रमणमा कुनै पनि सम्झौता नभएको बताउनुभएको थियो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो ‘अहिले हामीले जे प्राप्त गरेका छौं, त्यो ऋण होइन । बिआरआईका बारेमा अब धेरै दोहोर्याउनु नपरोस् ऋणसँग यसले सरोकार राख्दैन ।’
चीन भ्रमणमा बिआरआई अन्तरगत गरिएका सम्झौता अनुसार नेपालले पाउने सबै रकम अनुदान भएको प्रधानमन्त्रीको भनाई छ । प्रधानमन्त्री ओली चिनियाँ राष्ट्रपति सी जिनफिङसँग नेपाल–चीनबीच मित्रताको कुरा भएको, राष्ट्रपति र प्रधानमन्त्रीलाई पनि नेपाल भ्रमणमा आउने निम्तो दिएको र उहाँहरुले अनुकूल समयमा नेपाल भ्रमणमा आउने बचन दिनुभएको बताउनु
भयो । यसो गर्दा दुवै देशबीच मित्रता बढ्ने र यसले अरु कसैलाई नभएर नेपाललाई नै फाइदा पुग्ने बताउनु भयो ।
अनुदानका रुपमा स्वीकारीएको बिआरआई फ्रेमवर्क अन्तरगत नेपालले १२ वटा परियोजना प्रस्ताव गरेको थियो । तर अन्तिममा काठमाडौं–हेटौडा पोड वे र काठमाडौं उपत्यका प्रसारणलाईन स्तरोन्नतिको प्रस्ताव हटाएर बाँकी १० वटा परियोजनालाई समेटेर नेपालकातर्फबाट परराष्ट्र मन्त्रालयका निमित्त सचिव अमृतबहादुर राई र चीनका तर्फबाट ‘नेशनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसन’का उपाध्यक्ष ली सुसेले हस्ताक्षर गरेका थिए ।
यस परियोजनामा टोखा–छहरे सुरुङमार्ग, हिल्सा–सिमकोट सडक, किमाथांका–खाँदवारी सडक र पुल, जिलोङ–केरुङ–काठमाडौं ट्रान्सबोर्डर रेल्वे, जिलो–केरुङ चिलिमे २२० केभी ट्रान्समिसन लाइन, मदनभण्डारी विश्वविद्यालय, काठमाडौं साइन्टिफिक सेन्टर एण्ड साइन्स म्युजियम, झापाको दमकस्थित चीन–नेपाल औद्योगिक मित्रपार्क, दमकको झापा स्पोर्टस् एकेडेमी र डडेल्धुराको अमरगढी सिटि हल रहेका छन् ।