समृद्ध मुलुक र भाग्यमानी नेपाली हुने पहिलो आधार शिक्षा र स्वास्थ्य हो । आम सर्वसाधारण नागरिक स्वस्थ र शिक्षित नभएसम्म मुलुकबाट समृद्धि टाढै रहने छ । देशमा शिक्षित नागरिक नभएसम्म देशको खाँचो र बदलिँदो वातावरणलाई बुझ्न सक्ने क्षमताको विकास हुँदैन भने स्वस्थ नागरिक नहुँदा अस्वास्थ्ययताका कारण मुलुकलाई आवश्यक पर्ने श्रमशक्तिको अभाव खड्की रहन्छ, त्यसैले शिक्षा र स्वास्थ्य एक अर्काका परिपुरक पनि भएका छन् ।
हाम्रो नेपालमा शिक्षा र स्वास्थ्य अति नै महँगो छ । त्यो पनि भनेको ठाउँमा पाइदैन । औंलामा गन्न सकिने बाहेक अधिकांश सामुदायिक विद्यालयको पठनपाठन भद्रगोल छ । सरकारले शैक्षिक क्षेत्रमा गरेको लगानी बालुवामा पानी हाले जस्तै छ । जसकाकारण अति विपन्न देखि सर्वसम्पन्न सम्मले नीजि विद्यालयमा आफ्ना नानीबाबुहरुलाई पढाउन बाध्य हुनुपरेको अवस्था छ । यो अवस्थाले सर्वसम्पन्नलाई खासै असर नपुर्याए पनि मध्यम वर्ग र विपन्न वर्षको भने ढाड सेकिएको छ । एकातिर शिक्षा स्वास्थ्य महँगो छ । चर्को शुल्क तिर्दै कक्षा १२ सम्मको अध्ययन पुरा गरेपछि अधिकांश विद्यार्थीको चाहना विदेश पढ्न जाने र उतै पलायन हुने हुन्छ । विदेशमाभन्दा राम्रो पढाइ नेपालमै हुने भएता पनि उच्च शिक्षा हासिल गरी सकेपछि योग्यता र क्षमता अनुसारको काम दिने हैसियत नेपाल सरकारले राख्न सकेको छैन । जसका कारण विद्यार्थीले आफ्नो देशमा कुनै भविष्य नै देख्न सकेनन् । भविष्य देख्न र देखाउने हैसियत न त विद्यार्थीले राख्न सके, न त सरकारले राख्न सक्यो । यसकै पराकाष्टा हो विद्यार्थीहरुको विदेश पलायन ।
शिक्षा क्षेत्रको हालत त यस्तो भयो नै स्वास्थ्य क्षेत्रको हालत झन खराब छ । दुर्गमका कतिपय अस्पताल र स्वास्थ्य चौकीहरुमा ज्वरो आउँदा खाने सिटामोलसम्म भनेको बेला नपाइने अवस्था छ । अरु गम्भीर प्रकृतिका रोग लागे भने अकालमै ज्यान गुमाउनुपर्ने अवस्था छ । सम्पन्न परिवारले सुगम क्षेत्रमा गएर नीजि अस्पतालमा उपचार गरी निको भएर फर्किने हैसियत राख्न सक्लान तर विपन्न वर्गले त्यस्तो हैसियत राख्न सक्दैनन् ।
सरकारी अस्पतालमा स्वास्थ्य सेवा पाउने सम्भावना नभएपछि आफुसँग भएको जे जस्तो जेथो छ त्यसलाई मासेर नीजि अस्पतालमा उपचार गराउन बाध्य छन् न्यून आए भएका सर्वसाधारण । नाम दर्ता गरेको नै ५०० तिर्नुपर्छ अन्य स्वास्थ्य शुल्क त कति हो कति । मानौं सरकारी अस्पतालमा ५० हजारमा कुनै रोग निको हुन्छ भने नीजि अस्पतालमा उही समस्याका लागि २ लाखभन्दा बढी तिर्नुपर्छ । यसकारणले पनि नीजि क्षेत्रको स्वास्थ्य सेवा अति महँगो छ । त्यसैले निम्न वर्गीय र मध्य वर्गीय सर्वसाधारणका लागि स्वास्थ्य क्षेत्र पनि सस्तो र सर्वसुलभ पार्न आवश्यक छ । सरकारले विपन्न र अतिविपन्नका लागि स्वास्थ्य र शिक्षा तलदेखि माथिसम्म नै निशुल्क गराउनआवश्यक छ ।
जनतासँग चर्को कर लिने अनि सेवा सुविधा दिन चाहि कन्जुस्याई गर्ने परिपाटी राम्रो होइन ।