समय सापेक्षलाई मध्यनजर गरेर भन्नुपर्दा शिक्षा कार्यमूलक हुनुपर्दछ । कुनै न कुनै कामको लागि जुन सुकै वस्तुहरुको पनि सृष्टि हुने गर्दछ । सृष्टि भएर पनि कुनै काम भएन भने त्यो वस्तुको के प्रयोजन हुन्छ र ? त्यस्तै शिक्षाको सृष्टि पनि यो धर्तिमा राम्रो राम्रो कामहरु हुन सकुन भनेर नै हुन गएको हुन सक्छ । त्यसैले हाम्रो पुर्खाहरुले भन्ने गर्नु हुन्थ्यो पढि गुणी कुनै काम, हलो जोतो खायो माम, भन्ने उखान प्रशिद्ध नै छ । मानिसले गर्न सक्ने दुई खाले कामहरु सृजनात्मक र रचनात्मकहरु छन् । यिनै दुइृ खाले मध्ये कुनै न कुनै काम शिक्षा आर्जन गरेर गर्न सकिएन भने मानिसको सृष्टि भएको पनि अर्थ नलाग्न सक्छ । धेरै खाले राम्रा राम्रा गुणहरु मध्ये एउटा गुण आत्मनिर्भरतामा बाचेर विचरण गर्नु हो । यसो हुँदा आत्मनिर्भरतामा बाँच्नै पनि मानवीय आवश्यकता पुरा हुनै पर्यो । आआफुले आफ्ना आफ्ना मानवीय आवश्यकताहरु पुरा गर्न अवस्था अनुसारका खाँचो पुरा गर्नु पर्यो । खाँचो पुरा गर्न काम गर्नुपर्यो । काम गर्न जान्नु पर्यो । जान्न सिक्नु पर्यो । सिकेपछि गर्नुपर्यो । सिकेपछि गर्न पाइएन वा गरिएन भने सिक्नुको पनि अर्थ छैन । नराम्रो काम त मानिसले सिकेर जानेर अनेको बद्मासी गर्छ भने झन् राम्रा राम्रा कामहरु सिकेर पनि गर्न पाएन भने यस धर्तिमा बाँचेको मान्छेहरुको खाँचो कस्ले टारी दिने ?चोखो भावनामा रमेको मान्छे आफ्नै चोखो पसिनामा बाँचेर पनि आफ्नो क्षमताले भ्याएसम्म यही धर्तिमा बाँचेका अरु मान्छेहरुको लागिसहयोग पुग्ने खालका योगदान मुलक कामहरु सम्पन्न गर्न सफल भने कति आत्मगौरवपूर्ण कुरा हुन सक्छ ?यसर्थ मानिसले चाहेर पायो भने राम्रा राम्रा कामहरु गरी मानवीय खाँचोहरु पुरा हुँदै जान सक्छन् । यिनै खाँचोहरु पुरा गराउन नै मानिसले राम्रा राम्रा कामहरु सिक्न पाउनु पर्यो अनि गर्न पनि पाउनुपर्यो । अनि मात्र मानिसको खाँचो मात्र होइन सामाजको खाँचो, राष्ट्रको खाचो पुरा हुन सक्छ । मानिसलाई परेको खाँचो पुरा हुँदै गयो भने देशमा र समाजमा भाँडभैलो मच्चिदैन । शान्ति कायम हुन्छ । तर आज पैसा कमाएर ढुक्कसँग बाँच्न खोज्दा जताततै भाँडभैलो मच्चिने वातावरण बन्दै गएको छ । यस्तो खालको भाँडभैलो मच्चाउने वातावरण हटाउन भनेर नै राज्यले आफ्ना नागरिकहरुलाई उल्लेख्य प्रगति गराउने खालको शिक्षा हाँसिल गराउँदा कस्ले पो नराम्रो भन्ला र ?बरु राष्ट्रमा शान्ति छाउला । स्वदेशीबन्धु नागरिकहरु रमाउलान् । देशले पनि आत्मनिर्भरतामा रहेर उन्नती गर्ने अवसर पाउला र शिक्षाको महत्व बढ्दै जाला । शिक्षा निराशाजनक नभएर प्रेरणादायी बन्दै जाला ।








