सरकारले व्यवसायिक शिक्षा प्रभावकारी रुपमा कार्यान्वयन गर्न नसक्दा एसईई उत्तीर्ण देखि स्नातकोत्तर तह उत्तीर्णसम्मले बेरोजगारीको समस्या झेल्नु परिरहेको अवस्था छ । अध्ययन सकेपछि बेरोजगारी बस्नुपर्ने कहाली लाग्दो अवस्थाले विद्यार्थी र उनका अभिभावकहरु भएभरको अचल सम्पत्ति बेचेर वा बेंकमा धितो राखेर विदेश पढ्न जाने र पढ्न जाने बहानामा उतैको नागरिक भएर बस्ने माहोल बन्दै गएको छ । वर्षै पिच्छे हजारौंको संख्यामा विद्यार्थी वाहिरिने र यूवा समेत रोजगारीको खोजीमा छिमेकी र खाडी मुलुक जाने गर्दा गाउँ रित्तिदै जाने क्रम बढीरहेको छ । भने स्कुल र कलेजका विद्यार्थी खोज्न क्याम्पस प्रमुख र प्रधानाध्यापक भौतारिरहनु पर्ने अवस्थाको सृजना भएको छ । विदेश जाने चाहना भए पनि आर्थिक विपन्नताका कारण सुविधा खोज्दै विद्यार्थी र यूवाहरु शहर पस्ने गरिरहेका छन् । यसले ग्रामीण क्षेत्रमा जनघनत्व ज्यादै कम र शहरी क्षेत्रमा थामी नसक्नु भएको छ ।
देश संघीयतामा गएको लामो अवधि भइसक्दा पनि संघीयताको रसस्वादन गाउँका आम नागरिकले गर्न सकेनन् । केन्द्रीकृत शासन व्यवस्था गाउँगाउँसम्म फैलाउन भनेर संविधानमै व्यवस्था गरेर शक्ति विकेन्द्रीकरण गरियो । तर गाउँगाउँमा शक्ति र सत्ता पुगे पनि आम मानिसको शहरप्रतिको आकर्षणा घट्न सकेन । स्थानीय तहले पनि जनमुखी काम गरेर प्रभाव बढाउन सकेन । जसकाकारण नागरिकमा नेपालकै गाउँघरमा केही गर्न सकिन्छ भन्ने भावना जागृत गराउन नसक्दा गाउँबाट नजिकैको शहर, संघीय राजधानी काठमाडौं र काठमाडौंबाट विदेशतर्फ लाग्नेहरुको संख्या ह्वात्तै बढेको छ । कारण हो जनप्रतिनिधिहरुले बोलेको बचन र काम गराईमा तालमेल नमिल्नु । स्थानीय तहका जनप्रतिनिधिहरु आफ्नो क्षेत्रमा स्कुल, अस्पताल, खोलानालामा पुल जस्ता अति आवश्यक पूर्वाधार निर्माण गर्नु भन्दा ठूला ठूला प्रशासनिक भवन, भ्यू टावर जस्ता निर्माणमा बजेट खर्चिन माहिर छन् । जनताको अत्यावश्यकीय वस्तुको आपूर्ति र पूर्वाधार पछि मात्रै ठूला भवन र भ्यू टावर चाहिन्छ भन्ने कुराको विवेक जनप्रतिनिधिले पुर्याउन नसकेको देखिन्छ । यसबाट सर्वसाधारण नागरिकमा जन आक्रोश र निराशा बढ्नु स्वभाविकै हो ।
गुणस्तरीय शिक्षा, उपचार र रोजगारी प्राप्त गर्ने उद्देश्यले सबै राजधानी पस्ने गर्दछन् जसले गर्दा राजधानीलाई जनचापको भार थाम्न मुस्किल पर्ने देखिन्छ । त्यसैले यसमा सन्तुलन कायम गर्न अब सबै स्थानीय सरकारले आवश्यक योजनाहरुको निर्माण गर्नुपर्ने देखिन्छ । जसले गर्दा गाउँका नागरिकलाई गाउँमै राख्न सकियो् ।