काठमाडौं , सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला सरकारी वकिलको कार्यालयलेआज जवाफी बहस सक्ने तयारी गरेको छ।
सरकारी वकिलको कार्यालयको तर्फबाट समयमै बहस सकिए आजै थुनछेक आदेश आउने सम्भावना रहेको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए।
यसअघि बुधबार सबै प्रतिवादीतर्फको थुनछेक बहस सकिएपछि जाहेरवाला पक्षको जवाफी बहस पनि सकिएको थियो। गएको १६ गते सरकारी वकिलको कार्यालयका तर्फबाट थुनछेक बहस शुरु भएको थियो। रास्वपाका सभापति एव पूर्वगृहमन्त्री लामिछानेसहित सहकारीको रकम अपचलन मुद्दामा जोडिएका पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईँ, कृष्णबहादुर गुरुङ र रामबहादुर खनालको थुनछेक बहस भइरहेको हो।
बहसपछि प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि मुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ। यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।