काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपाललाई लागुपदार्थ मुक्त देशको रूपमा स्थापित गर्न नसके अवको १५ वर्ष पछि एउटा पुस्तानै प्रभावीत बन्न सक्ने जिकिर गर्नु भएको छ ।
नेपाल प्रहरीले सुरु गरेको लागुऔषध विरुद्धको महाअभियानको शुभारम्भ गर्दै गृहमन्त्री लेखकले यस्तो बताउनु भएको हो । मन्त्री लेखकले लागुऔष विरुद्धको अभियानमा सबै जुटेर लाग्ने हो भनें लागुऔषध नियन्ण अभियान निर्मुल पार्न धेरै समय नलाग्ने पनि बताउनु भयो ।
उहाँले अहिले संघीयतामा सरकार रहेको उल्लेख गर्दै तीन तहकै सरकारले लागुऔषधबिरुद्धको महाअभियानलाई सफल बनाउन आवश्यक काम गर्नुपर्ने बताउनु भयो। उहाँले नागरिकसँग नजिक रहेको स्थानीय सरकारले बढी पहल कदमी लिनुपर्ने पनि बताउनु भयो । ।
गृहमन्त्री लेखकले भन्नुभयो ‘अहिले हामी संघीयतामा छौँ । तीन तहमा सरकार छ । स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । यसमा स्थानीय तहलाई जोड्न जरुरी छ । किनभने यो अभियानलाई वडा वडा स्तरमा पुर्याउन सकियोस् । पालिकाहरूले पनि यसलाई एउटा अभियानका रूपमा अघि बढाउन जरुरी छ । एकै पटक जिल्लाभर नहोला तर एउटा जिल्लाको दुई, तीन वटा पालिकालाई लागुऔषध मुक्त पालिका बनाउने काम गरौँ । पालिका उठाऔँ । त्यहाँका स्कुल, क्याम्पस, युवा क्लब, राजनीतिक दल, भ्रातृ संस्था, शुभेच्छुक, विद्यार्थी सङ्गठनहरूलाई संलग्न गरौँ र एउटा पालिकालाई ६ महिनामा लागुऔषध मुक्त पालिका घोषणा गर्नेगरी अभियान चलाऔँ । सो गर्दा समग्र राष्ट्रलाई नै केही समयभित्र लागुपदार्थ मुक्त राष्ट्रका रूपमा लैजान सकिन्छ । लागुऔषधले समाजलाई धेरै नै नकारात्मक प्रभाव बनाएको छ । यो प्रहरीको मात्रै विषय होइन । लागुऔषधको प्रभावमा युवालाई पर्न नदिने कुरा अभिभावक र परिवारबाट सुरु हुन्छ । लागुऔषध दुर्व्यसनमा पर्न नदिने स्थिति निर्माण गर्ने एउटा पाटो छ भने अर्को यसको ओसारपसार, व्यापार, भण्डारण गर्ने आपराधिक गतिविधिमा प्रहरीको काम छ । खोज्ने, समात्ने, हेर्ने गर्नुपर्छ । कडाइका साथ काम गर्नुपर्छ । निवारण गर्ने काममा हामी समाज लाग्नुपर्छ । यसलाई महाअभियानका रूपमा देशभर लैजानुपर्छ । म मेरोतर्फबाट प्रतिबद्ध छु । नेपाल सरकारले लागुऔषध नियन्त्रणका लागि गर्नुपर्ने गतिविधिमा केके गर्नुपर्छ म तयार छु । यसका विरुद्धको लडाइँमा विजय प्राप्त गर्छौँ । यो मुलुकलाई लागुपदार्थ मुक्त देशको रूपमा हामी स्थापित गर्नसक्छौँ ।’