काठमाडौं, पछिल्लो समय राजावादीहरुको चहलपहल बढ्न थाले पछि नेपाली राजनीति गर्माउँदै गएको छ।
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको छ । राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री ओली शनिबार साँझ शितलनिवास पुग्नुभएको थियो।
उनीहरुबीच मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। स्रोतका अनुसार विकसित राजनीतिक घटनाक्रम र चर्चाहरूबारे पनि प्रधानमन्त्री र राष्ट्रपतिबीच छलफल भएको थियो।
प्रधानमन्त्री ओलीले पार्टीका केही उच्च नेताहरूसँग पनि समसामयिक परिस्थितिबारे कुरा गरेका छन्। यसैबीच प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले राजनीतिमा विकसित घटनाक्रमबारे छलफल गर्न भन्दै जागरण अभियान स्थगित गरेको छ ।
देशको पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर अन्य राजनीतिक दलहरूसँग पनि दाहालले छलफल गर्ने भएका छन्। पछिल्लो समय संघीय लोकतान्त्रिक गणतान्त्रिक गणतन्त्रात्मक प्रणालीविरुद्ध गतिविधि भइरहेको भन्दै माओवादी केन्द्रका अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गर्ने तयारी गरेका छन्।