पूर्वराष्ट्रपति भण्डारी एमालेको नेतृत्व लिन सक्रिय

काठमाडौं । सत्तारुढ नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीलाई टकराव दिन सक्ने कुनै नेता नदेखिएको समयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता एमालेभित्र बढेर गएको छ । भण्डारीले पार्टीको ११औं राष्ट्रिय महाधिवेशनमा नेतृत्व लिन तयारी तीव्र पारेकी छिन् । पार्टीको तल्लो कमिटीसम्म आफ्नो समुह नै खडा गरेर उनले अध्यक्ष केपी शर्मा ओलीलाई दबाबमा पारेकी छिन् ।
दुई कार्यकाल राष्ट्रपति हुँदासमेत पार्टीका सबै तह, तप्का र राज्यका निकायहरुमा अध्यक्ष ओलीसँग आफ्नो भाग लिएकी पूर्वराष्ट्रपति भण्डारीले अहिले पार्टीका सबै निकायमा आफ्ना समुहलाई सक्रिय बनाएकी हुन् । त्यसो त भण्डारीलाई प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीको अत्यन्त नजिकको रुपमा लिने गरिन्थ्यो । ओलीकै जोडबलले भण्डारी राष्ट्रपति पनि भएकै हुन् । आगामी महाधिवेशनमा सर्वसम्मत रुपमा नेतृत्व लिन चाहेकी उनले आवश्यक परे पार्टीका वर्तमान अध्यक्ष ओलीसँग चुनावी मैदानमा भिड्नसमेत तयार भएर अघि बढेकी छिन् ।
एमाले उच्च स्रोतका अनुसार पूर्वराष्ट्रपति भण्डारीले नपत्याउँदो गरी पार्टी संगठनलाई आफ्नो पकडमा पारिसकेकी छिन् । निर्वाचन केन्द्रीत गतिविधि नै सञ्चालन गरिरहेकी उनको समुहमा घोषित र अघोषित रुपमा लागेकाहरु पनि आफु पछि नहट्ने बताइसकेकी छिन् । उनको निर्देशन बमोजिम ‘विद्या समुह’ देशभर महाधिवेशन केन्द्रीत भएको छ ।
त्यसो त ओलीले चाहेर पनि भण्डारीलाई सक्रिय राजनीतिबाट रोक्न सकेका छैनन् । अध्यक्ष ओली भण्डारीसमक्ष रक्षात्मक अवस्थामा पुगेको बताइन्छ । यसले एमालेको आन्तरिक राजनीति र राष्ट्रिय राजनीतिलार्य नै एक÷डेढवर्षभित्र फरक मोडमा पु¥याउन सक्ने विश्लेषण गर्न थालिएको छ ।
पूर्वराष्ट्रपति भण्डारीको पक्षमा खुलेर लागिरहेका स्थायी कमिटी सदस्य कर्ण बहादुर थापाले एमालेको राजनीतिमा भण्डारीको आवश्यकता खड्किएकाले उनी सक्रिय राजनीतिमा फर्किनुपरेको बताए । उनले आगामी राष्ट्रय महाधिवेशनमा अध्यक्ष ओलीले नै भण्डारीलार्य अध्यक्षको प्रस्ताव गर्ने अवस्था बन्ने दावी गरे ।
‘अध्यक्ष ओलीले नै म कक्षा दोहो¥याउदिन भनेर पटक पटक भन्नु भएकै कुरा हो । आगामी महाधिवेशनमा विद्या भण्डारीलाई अध्यक्षमा अघि सारेर उहाँले समाधान दिनुहुनेछ भन्ने मेरो बुझाई छ ।’ उनले भने ।
त्यसो त २०७९ फागुन २९ गते राष्ट्रपतिका रुपमा दुई कार्यकाल सकेर बिदा भएपछि नै भण्डारीले एमालेको राजनीतिमा सक्रियता देखाएकी हुन् । सरुमा केही सार्वजनिक महत्वका कार्यक्रममा देखिन थालिन । अहिले उनी एमालेका जनवर्गीय संगठनहरुले गरेका विभिन्न कार्यक्रमहरुमा प्रमुख वक्ताकै रुपमा उपस्थित हुने गरेकी छिन् । उनी पार्टीमा आफ्नो अवस्थासँगै नेता÷कार्यकर्ताको मनोभावना बुझ्न सातै प्रदेश दौडाहामा लागेकी छिन् ।
त्यसो त अहिले एमालेको अधिवेशन धमाधम भइरहेका छन् । त्यहाँ उनको आशिर्वाद पाएका उम्मेदवारहरु पनि खुलेर उम्मेदवारी दिइरहेका छन् । सबै ठाउँमा विद्या भण्डारीको समूह संस्थापनसँग प्रतिस्पर्धा गर्न आउने अवस्था बनेपछि पार्टीले सबै ठाउँमा सर्वसम्मत नेतृत्व चयन गर्न र चुनाव नगर्न दबाब दिँदै आएको छ । तर, पार्टीको निर्देशन विपरीत निर्वाचन हुने परिस्थिति बन्दै गएको छ । यसले विद्या भण्डारीलाई रोक्न अध्यक्ष ओली र संस्थापन पक्षले नसकेको स्पष्ट हुन्छ ।
केही दिन अघि सम्पन्न मोरङ जिल्ला कमिटीको निर्वाचनले भण्डारीको सक्रियता सार्थक बनाएको छ । मोरङमा भण्डारी प्यानलका अम्बर राई अध्यक्ष बने । उनी आफु मात्रै होइन, मोरङका पदाधिकारी सबै पदमा भण्डारी समुहले जित हात पार्यो । भण्डारी निकट नेताहरु अन्य जिल्लाको स्थिति पनि यस्तै रहेको दाबी गर्छन् । ओली र भण्डारी विगतमा अत्यन्त नजिक थिए तर अहिले उनैदुईबीचको टकरावलाई अस्वभाविक र अचम्मको रुपमा लिन सकिन्छ ।

LEAVE A REPLY