काठमाडौँ , राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाको आन्दोलनमा छुट्टै अघि बढ्ने अडान लिईरहेकोराष्ट्रिय प्रजातन्त्र पार्टीले अधिकांश नेताहरू सबै राजावादी एक भएर जानुपर्ने पक्षमा उभिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो अडान बाट पछि हट्नेनिर्णय गरेको छ ।
राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि संयुक्त आन्दोलनको नेतृत्व गर्ने जिम्मा पञ्च नेता नवराज सुवेदीले पाएका छन्। राप्रपाकै नेतासमेत रहेका उनलाई सर्वस्वीकार्य हुने ठानेर पूर्वराजा ज्ञानेन्द्र शाहले उक्त जिम्मेवारी दिएको भनिएको छ।
सम्पूर्ण राजावादीलाई एकठाउँ ल्याएर संयुक्त आन्दोलन गर्ने गरी ‘राजसंस्था पुनःस्थापनाका लागि संयुक्त समिति’को नेतृत्व सुवेदीलाई दिइएपछि राप्रपामा दुई धार थियो।
स्रोतका अनुसार बैठकमा बहुमतभन्दा धेरै नेताहरूले राजावादीबीच एकले अर्कोलाई सघाएर जानुपर्ने मत राखेपछि अध्यक्ष लिङ्देन पछि हटेका हुन्। योसँगै राप्रपाले राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि अन्य दल र अभियानहरूबाट आयोजना हुने कार्यक्रममा सहयोग र समर्थन गर्ने निर्णय मंगलबारकै बैठकबाट गरेको छ।
पछिल्लो समय राजावादी बनेका व्यवसायी दुर्गा प्रसाईंले चैत १५ गते आन्दोलन आह्वान गरेका छन्। आन्दोलनमा सुवेदी नेतृत्वको समितिले समर्थन जनाइसकेको छ। सुवेदीले मंगलबार विज्ञप्ति जारी गर्दै १५ गतेको जनप्रदर्शनलाई सफल बनाउन सबै पक्षसँग सक्रिय सहभागिताको आह्वान गरेका छन्।
उनले भनेका छन्, ‘आउँदो शुक्रबार राजधानीमा हुने विशाल जनप्रदर्शनमा सहभागी भई समर्थन जनाउन सम्पूर्ण राजसंस्थावादी, हिन्दू अधिराज्यवादी, संघीयताविरोधी तथा आमनागरिक, राजनीतिक पार्टी र समूहसँग हार्दिक अपील गर्छु। देश बचाउन र पुनर्निर्माण गर्न अब हामीसँग अर्को कुनै विकल्प बाँकी छैन।’
राप्रपाको पछिल्लो निर्णय सुवेदी नेतृत्वको समितिमा रहेका नेताहरूलाई खुलेर लाग्ने बाटो खुलेको छ। यो निर्णयपछि संस्थापन इतर समूह उत्साहित सुनिन्छन्। परिणाम निकाल्नका लागि एक हुनैपर्छ भन्ने निष्कर्षका साथ उक्त निर्माणमा पुगिएको महामन्त्री शाही बताउँछिन्।
‘राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि जति दल, समूह र अभियान छन्, उनीहरूलाई सहयोग र साथ दिने र लिने पनि भनेर निर्णय गरेका छौं’, उनी भन्छिन्, ‘यो समयको माग पनि हो। परिणाम निकाल्नका लागि हामी सबै एक ठाउँमा आउनुपर्छ भन्ने निष्कर्षका साथ यो निर्णय भएको हो। पार्टीको कार्यक्रमलाई पनि निरन्तरता दिने कुरा त छँदै छ।’