आफुले भनेजस्तो एजेण्डा भोलि हुने राजावादी र गणतन्त्रवादी प्रदर्शनमा नहुने भएकोले रास्वपा सहभागी नहुने मनिष झा कार्यबाहक प्रवक्ता रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भोलि काठमाडौंमा हुने दुवै पक्षको प्रदर्शनमा आफ्नो पार्टीको सहभागिता नहुने जानकारी दिएको छ ।
पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाले गणतन्त्र पक्षधर र राजावादीहरू दुवैको प्रदर्शनमा पार्टीको कुनै सहभागिता नहुने जनाएका हुन् ।
वर्तमान सरकारको विरोधमा हुने जुनसुकै शान्तिपूर्ण कार्यक्रमहरूमा आफ्नो पार्टीको नेतृत्व, सहभागिता र ऐक्यबद्धता हुने भए पनि भोलिका दुवै प्रदर्शन सरकार विरोधी भन्दा पनि व्यवस्थाको पक्ष र विपक्षमा भएकाले आफ्नो पार्टी सरिक नहुने प्रवक्ता झाको भनाइ रहेको छ ।
‘भ्रष्टाचारी जोगाउने र बिचौलिया पोस्ने जगमा बनेको यस सरकारको विरोधमा गरिने शान्तिपूर्ण कार्यक्रमहरूमा रास्वपाको नेतृत्व, सहभागिता एवं ऐक्यबद्धता रहनेछ भनेका छौं, तर भोलि हुने दुवै प्रदर्शन त सुशासनको मुद्दामा छैन,’ झाले भने, ‘एकतर्फले व्यवस्था ठिक छैन र अर्कोले व्यवस्था ठिक छ भनेका छन् । त्यसकारण भोलिको प्रदर्शनमा हामीले भने अनुसारको एजेन्डा नरहेको हुनाले हाम्रो सहभागिता रहने छैन ।’
यसअघि गत १२ चैतमा रास्वपाले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई पदमुक्त गरेको विरोधमा विज्ञप्ति जारी गर्दै सरकार विरोधी शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुने जनाएको थियो ।

 

 

LEAVE A REPLY