काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र रोजगारी वृद्धि गर्ने गरी जनताको विकासको आवश्यकता र प्राथमिकताका आधारमा आगामी आर्थिक वर्षको बजेट ल्याउन निर्देशन दिएका छन् ।
आगामी आर्थिक वर्षको बजेट तर्जुमा तथा प्राथमिकता निर्धारणका सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित छलफलमा प्रधानमन्त्री ओलीले उत्पादन र रोजगारी वृद्धि गर्न ठोस योजनासहित अबको बजेट ल्याउनुपर्ने बताएका छन् ।।
नेपाल सरकारले हरेक जेठ १५ गते संघीय संसद्मा आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गर्छ भने त्यसअघि बजेटका प्राथमिकता र सिद्धान्तबारे सदनमा छलफल हुनेगर्दछ । । सोको तयारीका लागि प्रधानमन्त्री ओलीले सबै मन्त्रालयका मन्त्री र सचिवसहितको छलफल डाकेका हुन् ।
“सुशासन कायममा कुनै सम्झौता गर्नुहुँदैन । राजस्व संकलनमा बदमासी पाइएमा संलग्न जो कोहीलाई तुरुन्त कारबाही गर्नुपर्छ । पर्याप्त राजस्व उठेपछि नै जनताको विकासमा खर्च गर्न सकिन्छ,” प्रधानमन्त्री ओलीले भने, “स्रोतको आधारविना बजेट ल्याइएको हालको प्रवृत्ति अन्त्य गर्नुपर्छ । आग्रह र पूर्वाग्रह राखेर बजेट तर्जुमा गर्न मिल्दैन । बजेट जनताको विकासको आवश्यकता र प्राथमिकताका आधारमा उत्पादन र रोजगारी वृद्धि गर्ने गरी बजेट ल्याउनुपर्छ । अनुदान नीतिमा पुनरावलोकन गर्नुपर्छ ।”
यसै विचउपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोत सुनिश्चितताविना धेरै योजना राखिने , भएको पुँजीगत खर्च गर्न नसक्ने, तर थप बजेट माग्नेजस्ता बेथिति सुधारेर विधि र मापदण्डमा आधारित रही बजेट तर्जुमामा आफूहरू लागेको जानकारी गराए ।