काठमाडौँ , नेकपा एमालेले पार्टी स्थापना दिवसमा कम्युनिष्ट आन्दोलनमा योगदान गर्ने ७ जनालाई ‘कम्युनिष्ट योद्धा’ का रूपमा सम्मानित गर्ने र वैशाख ११ गते लाई उत्सवका रुपमा मनाईने निर्णय गरेको छ
बैशाख १ गते सोमवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले बताए।
उनका अनुसार वैशाख ९ गते पार्टी स्थापना दिवसमा सम्मानित हुनेहरुमा लालबहादुर विश्वकर्मा कञ्चनपुर, स्वर्गीय रत्न शर्मा न्यौपाने जाजरकोट, शोभारम बस्नेत दाङ, बासस्वती देवकोटा ,गोरखा, शान्ता मानवी काठमाडौँ, सत्यनारायण मण्डल सप्तरी, र हरिचरण शिवाकोटी झापा रहेका छन्।
पार्टीले वैशाख ११ गतेलाई गणतन्त्रको उत्सवको रुपमा मनाउने निर्णय गरेको छ। उनले निरङ्कुश राजतन्त्र फालेर गणतन्त्रको औपचारिक बिजारोपण गरिएको दिन भएकोले त्यो दिनलाई सेलिब्रेशनका रुपमा भव्य कार्यक्रम आयोजना गर्ने बताए।
‘आगामी बैशाख ११ गते जनताले जितेको दिन निरङ्कुश राजतन्त्र फालेर गणतन्त्रको औपचारिक बिजारोपण गरिएको दिन हो। त्यो दिनलाई हामी उत्सवको रुपमा मनाउने र आजको पुस्तालाई लोकतन्त्र र स्वतन्त्रताको महत्व बताउन,’ उनले भने, ‘गणतन्त्रको महत्व बताउन सेलिब्रेसनको रुपमा काठमाडौँमा एउटा भव्य कार्यक्रम आयोजना गर्दै छौँ।