काठमाडौं।सत्तारुढ दल नेपाली कांग्रेसले आज पार्टीको पदाधिकारी बैठक बोलाएको छ।
पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बैठक केहि मिनेट पछि बस्ने तयारी गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, सरकारले ल्याएको नीति तथा कार्यक्रम लगायतका समसामयिक विषयमा छलफल हुने मुख्यसचिव पौडेलले बताए।
बैठकमा कायम मुकायमको भरमा चलेको नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका विषयमा विशेष छलफल हुने बताइएको छ। लामो समयदेखि गभर्नर नियुक्ति हुन नसक्दा सरकार र सत्ता सहयात्री दल नेपाली कांग्रेसको आलोचना हुँदै आएको छ।
यी दुई दलबीच राष्ट्र बैंकको गभर्नर कांग्रेसको कोटाबाट नियुक्ति गर्ने सहमति भइसकेको छ। तर प्रक्रिया नमिल्दा नियुक्ति हुन सकेको छैन। सिफारिस समितिले नाम सिफारिस गर्न सकेको छैन भने कांग्रेसले गभर्नर बनाउन चाहेका गुणाकर भट्टले दिएको राजीनामा कामु गभर्नर निलम ढुंगानाले स्वीकृत नगर्दा गभर्नर नियुक्ति हुन सकेको छैन।
यही विषयलाई लिएर यी दुई दलबीच किचलो उत्पन्न समेत भएको छ। आज बस्ने पदाधिकारी बैठकमा मुख्य गरी गर्भनर नियुक्तिबारे गम्भीर छलफल हुने बताइन्छ








