नयाँ वर्षको शुभकामना

सम्पादकीयमु

लुकमा पुरानो वर्षको अन्य भइृ नयाँ वर्ष २०८३ ले प्रवेश पाएको छ । यस संर्गै भित्ता र टेबलमा सजाइएका क्यालेण्डर पन्छाएर नयाँ क्यालेण्डर राखिएको छ । साथै पुराना विचार त्याग गर्दै नयाँ कामको थालनी गरिदै छ भने अधुरा कामलाई नयाँ वर्षमा पुरा गरिने प्रण गर्ने गरिन्छ । नयाँ वर्षमा मिठो–मसिनो खाने, राम्रो लगाउने र सत्यतथ्य बोल्ने गरिएमा वर्षैभरि यस्ता कामले निरन्तरता पाइरहने विश्वास गरिन्छ ।
नयाँ वर्षसँगै नयाँ सरकार र संसद अनि त्यसका सभामुख, उपसभामुख समेत सँगै आएका छन् । यिनले जेनजी सहिदको भावना अनुसार काम गर्ने विश्वास लिइएको छ । मुलुकमा भ्रष्टाचार बेथिति बढेर सिमा नाघेपछि यसका विरुद्ध भाद्र २३ र २४ गते जेनजीहरुले आन्दोलन गरेका थिए । आन्दोलनकै क्रममा तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार बनेको र उसले तोकिएकै समयमा निर्वाचन शानितपूर्णरुपमा सम्मपन्न गरी सत्ताको तालाचाबी रास्वपा नेतृत्वको सरकारलाई हस्तान्तरण गरेको छ । यससँगै मुलुकमा सुशासन, समृद्धि र भ्रष्टाचार नियन्त्रण हुने ठूलो अपेक्षा गरिएको छ । यो अपेक्षालाई नयाँ वर्षले पुरा गरिदिने विश्वास समेत लिइएको छ ।
नयाँ वर्षमा भ्रष्टाचारीको जरो–किलो उखेलियोस् । राज्य लुट्नेलाई हदैसम्मको कारवाही गरिदै लुटिएका सम्पत्ति राष्ट्रका नाममा फिर्ता गर्न सहयोग पुर्याओस् । विकासका लहरहरु गाउँघर, बस्ती टोल सबै ठाउँमा पुग्न मद्दत गरोस् । विदेशमा रोजगारी गर्न गएका युवायुवती सबै स्वदेश फर्किउन र आफ्नै देशमा विदेशमा कमाएको सीप र पैसा खर्च गर्नुपर्छ भन्ने भावनाको विकास
गरोस् । मुलुकलाई आत्मनिर्भरको बाटो तर्फ मोडियोस् । आयातभन्दा निर्यात बढोस् । बन्द भएका कलकारखाना खुलुन, बेरोजगारी घट्दै जाओस् । पर्यटन व्यवसाय फलोस् फुलोस्, प्राकृतिक सम्पदाको सदुपयोग पूर्ण रुपमा होस् । शिक्षा, स्वास्थ्य सस्तो र सर्वसुलभ होस् । कुनै पनि नेपाली भोक र रोगकै कारण मर्न नपरोस् । मित्रराष्ट्र चीन, भारत र समुद्र पारका शक्ति सम्पन्न राष्ट्रहरुको साथ र सहयोग सँधै रहिरहोस् । गिद्धे दृष्टि नपरोस् । पुराना दलका नेताहरुमा सद्बुद्धि फिरोस् । नयाँ दलका नेताहरु र नयाँ सरकार बहुमतबाट नमात्तीई र नआत्तीइ जनअपेक्षाका काम गर्ने प्रेरणा मिलोस्, देशमा शान्ति सुरक्षा र अमनचयन कायम रहि रहोस् । यही छ शुभकामना ।

LEAVE A REPLY