काठमाडौं । दक्षिण कोरियामा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरूलाई सरकारले प्रदान गर्दै आएको वैदेशिक अध्ययन अनुमति पत्र एनओसी तत्कालका लागि स्थगित गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीहरूको सुरक्षासँगै अध्ययनको निरन्तरता सुनिश्चित गर्न यो निर्णय लिएको हो।
मंगलबार मन्त्रालयले सूचना जारी गर्दै डी–२ स्नातक र डी–४ भाषा अध्ययन भिसामा कोरिया जाने विद्यार्थीहरूलाई एनओसी प्रदान नगर्ने जानकारी गराएको छ। यस विषयमा थप निर्णय गर्न कार्यदल गठन गरिने र त्यसले पेश गर्ने प्रतिवेदनका आधारमा आगामी कदम चालिने मन्त्रालयले स्पष्ट पारेको छ।
सरकारले दक्षिण कोरियामा अध्ययनका लागि जाने विद्यार्थीहरूको मुख्य उद्देश्य पढाइभन्दा रोजगारीमा केन्द्रित रहेको देखिएको भन्दै चिन्ता व्यक्त गरेको छ। कतिपय विद्यार्थीहरूले अध्ययनका लागि भनी कोरिया गए पनि स्टडी आवर कम भएका विश्वविद्यालयमा भर्ना हुने, अवैध रोजगारीमा संलग्न हुने र अध्ययनलाई दोहोरो प्राथमिकतामा राख्ने गरेका कारण यो निर्णय लिइएको मन्त्रालयले जनाएको छ।
नेपाल सरकारले कोरिया सरकारले कालोसूचीमा राखेका विश्वविद्यालयहरूमा नेपाली विद्यार्थीहरू पठाइएको पाइएको छ। यस्ता विश्वविद्यालयमा गुणस्तरीय शिक्षा नहुँदा विद्यार्थीहरू अध्ययनको निरन्तरता कायम राख्न नसक्ने र आर्थिक शोषणमा पर्ने जोखिम बढेको शिक्षा मन्त्रालयको ठहर छ। शिक्षा मन्त्रालयले यस समस्याको उचित व्यवस्थापन गर्न छानबिन कार्यदल गठन गर्ने र प्रतिवेदनको आधारमा मात्र एनओसीको भविष्यबारे निर्णय लिने जनाएको छ। कोरियामा अध्ययनका लागि इच्छुक विद्यार्थीहरूको सुरक्षा र गुणस्तरीय शिक्षाको प्रत्याभूति गर्न यो कदम आवश्यक रहेको सरकारको धारणा छ।