राजावादीहरूको दोस्रो चरणको आन्दोलन घोषणामा विवाद

काठमाडौं । राजसंस्था पुनर्स्थापना नभएसम्म रोकिँदैनौं भनेर सडकमा उत्रिएका राजावादीहरूको दोस्रो चरणको आन्दोलन घोषणमा विवाद उत्पन्न भएको छ ।। बुधबार दोस्रो चरणको आन्दोलनका कार्यक्रम तय गर्न बसेको बैठकमा नेतृत्वकर्तामाथि नै केही युवाहरूले प्रश्न उठाएपछि कार्यक्रम घोषणमा विवाद उत्पन्नभएको थियो । अध्यक्ष कमल थापा आन्दोलन अघि बढाउन सक्षम नभएको भन्दै होहल्ला गरे ।
उनीहरूले कमल थापाले राजावादीलाई एक ठाउँमा समेट्नुको सट्टा गणतान्त्रिक सरकारमा उपप्रधानमन्त्री हुन कुदेको र राजेन्द्र लिङ्देनले राजा फर्काउने आन्दोलन भन्दा गणतन्त्रको संसदलाई धेरै प्राथमिकता दिएको आरोप लगाएका छन् ।
पटक–पटक टुट्दै र जुट्दै गरेका राजावादीहरूलाई पछिल्लो समय पूर्व राजा ज्ञानेन्द्र शाहले बोलाएरै एकताबद्ध हुन भनेका थिए । त्यसपछि कमल थापा र राजेन्द्र लिङ्देन लगायत नेताहरू पुराना राजावादी नेता नवराज सुवेदीको नेतृत्वमा आन्दोलन गर्न तयार भएका थिए । उनीहरूले मुलुकमा गणतन्त्र आएको दिन जेठ १५ को छेको पारेर नै आन्दोलन सुरु गरेका थिए
सुरुमा सडकमा राम्रै उपस्थिति जनाएका राजावादीहरूको प्रदर्शनमा पछिल्लो समय नैराश्यता देखिएको थियो । जेठ १८ गते सडकमा उत्रिएका राजावादीहरूमाथि प्रहरीले धरपकड गरेपछि आन्दोलनका संयोजक नवराज सुवेदीले जेठ १९ गते उपत्यका बन्दको घोषणा गरेर विज्ञप्ति निकालेका थिए । तर राप्रपाले उक्त बन्दमा आफूहरूको समर्थन नरहेको बताएपछि जेठ १९ गते विहानै राजावादीहरूले बन्द फिर्ता लिएको बताएका थिए ।

 

 

LEAVE A REPLY