काठमाण्डौ,नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले विभिन्न बहानामा प्रमुख प्रतिपक्ष दलका नेतामाथि आक्रमण गरिरहेको आरोप सरकारलाई लगाएका छन् । वर्तमान सरकारले सत्ता र शक्तिको दुरुपयोग गरी प्रतिपक्ष दलका नेतालाई छानीछानी बदलाभाव देखाएको उनको दाबी छ ।
सरकारले सत्तापक्षीय नेताहरुमाथि प्रश्न उठ्दा भने सरकारले संरक्षण दिएको बताएका छन् । शुक्रबार संवाद डबलीलले काठमाडौंमा आयोजना गरेको अन्तर क्रियामा उनले भने, ‘माधवकुमार नेपाललाई भ्रष्टाचारको मुद्धा दायर गरिनु, रास्वपा सभापति रवि लामीछानेमाथि कानुनी डण्डा बर्षाउनु, कुलमान घिसिङलाई हटाउने, बालेन शाहलाई चलाई राख्नु प्रतिशोध र बदलाभाव हो ।’
महासचिव गुरुङले पार्टीका उपाध्यक्ष अग्नी सापकोटा र नेता सूर्यमान दोङलगायतमाथि लगाइएको मुद्दालाई नियमित अदालतले भन्दा सत्य निरुपण तथा मेलमिलाप आयोगबाट सुल्झाउनुपर्ने धारणा राखे ।
पीडित पक्षले सोही विषयमा टिआरसीमा निवेदन दिएर राहतस्वरुप रकम लिइसकेको बताउँदै उनले भने, ‘अर्जुन लामाको परिवारले एकातिर टिआरसीबाट रकम लिने र अर्कोतिर छानबिन गरि कारबाही गरिपाउँ भनि अदालतमा जानु विस्तृत शान्ति साम्झौता र टिआरसी विरुद्धको विषय भयो ।’








