राज्यलाइ स्वच्छ नेतृत्वको अभाव कहिले सम्म ?

सम्पादकीय,

समृद्ध मुलुक र सुखी नेपाली बन्न राज्यको नेतृत्व गर्ने जो सुकै पनि स्वच्छ छविको हुनु आवश्यक छ । तर काँगे्रस सन्त नेता कृष्ण प्रसाद भट्टराई्, एमाले पूर्व अध्यक्ष तथा प्रधान मन्त्री मनमोहन अधिकारीको निधन पछि राज्यले स्वच्छ छविको प्रधान मन्त्री नै पाउन सकेको छैन भन्दा कुनेै अत्यूक्ती नहोला । राज्यको नेतृत्व नै भ्रष्ट भएको खण्डमा सरकारी कार्यालयका कार्यालय सहयोगी देखि मुख्यसचिवसम्मका कर्मचारी भ्रष्टचारी नहोलान् भन्न सकिदैन । किन कि नेतृत्व आफै भ्रष्ट भएपछि आफु मातहतका कर्मचारी र उच्च पदाधिकारीलाई भ्रष्टाचार नगर भन्नै सकिदैन र भनि हाले पनि कसैले टेर्ने वाल छैन । उदाहरणका लागि घरमुलीको चुरोट खाने बानी छ, उ चुरोट नखाई बस्न सक्दैन तर परिवारलाई चुरोट खानु हुँदैन भनेर उपदेश वा गाली गर्छ भने उसको कुरा कसैले पनि खाँदैन । किनकी देखासिकि त गर्नै पर्यो । हो, त्यही नियम राज्यको नेतृत्व गर्ने र कर्मचारी पदाधिकारीमा पनि लागू भैरहेको छ । त्यसकै कारण भ्रष्टाचार घट्नुको सट्टा बढ्दै गएको छ ।
लोकतान्त्रिक गणतन्त्र आए पछि विभिन्न दलबाट दल नेतृत्व गर्नेहरु प्रधानमन्त्री बने, कांग्रेस सन्त नेता कृष्णप्रसाद भट्टराई, एमालेका नेता मनमोहन अधिकारी प्रधानमन्त्री
भए । उनीहरुले अनियमितता गरी भ्रष्ट बनेको खबर कुनै तह तप्काबाट आएन । उनीहरु पछि प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, तत्कालिन एमाले अध्यक्ष माधवकुमार नेपाल, वर्तमान एमाले अध्यक्ष केपी शर्मा ओली सबै प्रधानमन्त्री भए र ओली प्रधानमन्त्री नै छन् । तर उनीहरु कसैलाई पनि जनताले स्वच्छ छविको प्रधानमन्त्री भन्न पाएनन् । वाइडबडी, बुढीगण्डकी, भुटानी शरणार्थी, लडाकु घोटाला, गिरीबन्धु टी स्टेट, यति र ओम्नी जस्ता काण्डैकाण्ड मच्चाउने आरोप वर्तमान नेताहरुलाई छ । पछिल्लो समय एमाले पूर्वअध्यक्ष तथा नेकपा एसका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई पतञ्जली जग्गा प्रकरणको आरोपमा अख्तियारले मुद्दा दायर गरेको छ । मुद्दा दायर गरेपछि सत्ता विपक्षी ४ दलले माधव नेपाल विरुद्ध सरकारले प्रतिशोध साँधेको आरोप लगाएका छन् । आरोप जे जस्तो लागे लगाए पनि निष्पक्ष छानविन भए वास्तविकता पत्ता लागि हाल्छ । अख्तियारले माधव कुमार नेपाललाई जस्तै मुद्दा चलाए कारवाहीको लाइन रहेका, अन्य प्रधानमन्त्रीहरु पनि भ्रष्टाचारको आरोपबाट अछुतो रहन नसक्ने ठहर आम नेपालीले गरिरहेका छन् । माधव नेपाल विरुद्ध अख्तियारले मुद्दा दर्ता गर्नुमा सत्ता साझेदार दलको भूमिका रहेको भनिए पनि कांग्रेस सभापति शेरबहादुर देउवाको भूमिका भने नरहेको पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

LEAVE A REPLY