काठमाडौं । चर्चित गीतकार टेक तामाङको पहिलो एकल साँझ यही असार १४ गते प्रज्ञाभवन कमलादीमा हुने भएको छ ।
प्रतिष्ठानको प्रेक्षालयमा आगामी असार १४ गते शनिबार, दिनको ४ः०० बजेबाट प्रारम्भ हुने उक्त एकल साँझ कार्यक्रमलाई ‘गीतकार टेक तामाङ सांगीतिक साँझ – २०८२’ नाम दिइएको छ ।
गीतकार तामाङको हालसम्म सयौं गीतहरु रेकर्ड छन् । एकल साँझमा गीतकार तामाङले रचना गरेका नयाँ र पुराना गरेर १७ वटा लोकप्रिय गीतहरु प्रस्तुत गरिने छ । एकल साँझका लागि चयन भएका गीतहरु नेपाल मेरो घर, आमा, स्वर्ग सुख, मीठा मीठा बोली, जित्नेहरुको पनि, आफ्नै धड्कन, मन पर्छ, अल्झिरह्यो याद, नजिक यति भएर पनि, तिमी सागर, तिमीलाई पराईको, अँगालोमा बेरिरहुँ, जन्मिखेली, मै खुकुरी, माथि माथि लेकमा, जोर मादलको तालैमा, स्वर्ग झैं सैलुङ्ग लगायतलाई विभिन्न गायक गायिकाले प्रस्तुत प्रस्तुत गर्ने छन् ।
प्रत्यक्ष वाद्यवादनसहित अग्रज गायक गायिका देखि अहिलेका लोकप्रिय गायक गायिकासम्मले गीत गाएर झुमाउने छन् । कार्यक्रममा दिप श्रेष्ठ, किरण प्रधान, शिव परियार, राजेशपायल राई, अन्जु पन्त, सत्यराज आचार्य, संगीता राना प्रधान डेबिड शंकर, रुपक चौधरी, प्रदिपराज पाण्डे, कन्काइष्ट राई, सन्जय तुम्ब्रोक, सुमिना लो, रेश्मा बमजन, अस्मिता अधिकारी, प्रल्हाद तिमिल्सिना लगायत उनका चर्चित गीतहरुमा गुञ्जिने छन् ।
कार्यक्रमलाई सभ्य, भव्य र सुसंस्कृत रुपमा सम्पन्न गर्नका लागि कार्यक्रम व्यवस्थापन तथा समन्वय समिति पनि गठन गरिएको छ । गीतकार संघका अध्यक्ष समेत रहेका गीतकार बसन्त बित्यासी थापाको संयोजकत्वमा गठन भएको समितिको सदस्यहरमा अशोककुमार राई, सुमन पण्डित ‘बैरागी’ टिका राई शिव, कन्काइष्ट राई, शशी लुमम्बु, सुशील केसी, अर्जुन बहादुर घलान र गोपालचन्द्र राई रहेका छन् ।
‘टेक तामाङ सांगीतिक साँझ –२०८२ ’ ले सामाजिक सशक्तीकरण र सांस्कृतिक प्रवद्र्धनमा समेत प्रेरणा दिन सहयोग पुग्ने आयोजकको अपेक्षा छ । आयोजक संस्थाका अध्यक्ष एवं कार्यक्रम व्यवस्थापन समितिका संयोजक थापाले एकल साँझलाई भव्य बनाउन कुनै कसर बाँकी नराख्ने जानकारी दिए ।









