प्राकृतिक विपत्तिको जोखिमबाट बचौ

सम्पादकीय
जल तथा मौसम विज्ञान विभागले यो वर्ष बढी गर्मी हुने र गत वर्षकोभन्दा बढी वर्षा हुने बताएको छ । यसबाट हुन सक्ने प्राकृतिक विपत्तिको जोखिमबाट बच्न समेत सुझाएको छ । नभन्दै नेपालमा मनसुनी वर्षाको रेकर्ड बढ्दै जान थालेको छ । तराईमा डुबान र पहाडमा बाढी पहिरो जाने क्रम बढ्दै गइरहेको छ । यसबाट स्वयं आफु जोगिने र अरुलाई पनि जोगाउने गर्नु आवश्यक देखिएको छ । गत शुक्रबारदेखि देशभर मनसुन विस्तार हुँदै गएको छ । यसले प्राकृतिक विपत्ति निम्त्याउन सक्ने हुँदा जनता स्वयम् चनाखो भई विपत्तीबाट जोगिनु पर्ने र सम्बन्धित निकायले पनि आफ्ना नागरिकलाई बेलैमा सुरक्षित स्थानतर्फ लैजान पर्ने आवश्यक देखिन थालेको छ । किनकी नेपाल र छिमेकी देश चीनको सीमा क्षेत्रमा मनसुनले नियमित वर्षा गराई रहेकाले विपद्को जोखिम झन् झन् बढाउँदै लगेको छ । चीनको तिब्बत क्षेत्रमा नियमित वर्षा भइरहेको र त्यस क्षेत्रबाट नेपालतर्फ बग्ने नदीहरुमा बाढी आइरहेकोले आसपासका बस्ती र नदी छेउका धानफल्ने उर्बर जमिन समेत बाढीले बगाएर बगरमा परिणत हुने सम्भावना पनि त्यतिकै बढेको छ । यस्तो जोखिमबाट सतर्क रहन मौसम विभागले अनुरोध गरेको छ । छिमेकी मुलुक चीनमा असार ३ गतेदेखि १० गतेसम्म अत्यधिक वर्षा हुने पूर्वअनुमान गरिएकाले भोटेकोशी र सुनकोशी नदीमा बाढी आउन सक्ने हुँदा नदी आसपासका गाउँबस्तीलाई सतर्क रहन मौसम विज्ञान विभागले सुझाएको छ ।
यसैबीच विहिबार रातिदेखि भईरहेको वर्षाका कारण राजधानी काठमाडौं लगायत देशका विभिन्न भागमा वर्षा भइरहेका कारण राजधानीतर्फ बग्ने नदीहरुमा बाढी आएको छ । काठमाडौं, भक्तपुर र ललितपुर लगायतका सडक जलाम्मे भएका छन् । यसले सवारी साधन कुदाउन असहज भैरहेको छ । त्यसैगरी चितवन, नवलपरासी, कास्की लगायतका जिल्लाका साना ठूला नदीमा बाढी आउँदा विभिन्न स्थानमा प्रपुख तथा सहायक सडकम अवरुद्ध भएका छन् । वर्षा भरखरै सुरु हुँदा बाढी पहिरोले यति धेरै क्षति पुर्याएको छ । असार श्रावण महिना भनेको वर्षा हुने महिना हो । जसले अझै धेरै ठाउँमा क्षति पुर्याउने सम्भावना बढी देखिन्छ ।
अघिल्लो वर्ष असोजको दोस्रो हप्ता आएको बाढीले पुर्याएको क्षतिपूर्ति गर्न नपाउँदै पछिल्लो वर्ष फेरी वर्षा सुरु भएको छ । विगतकाा घटनाबाट पाठ सिकेर यो वर्ष आफु जोगिने र अरुलाई जोगाउने काम गर्न आवश्यक देखिएको छ ।

LEAVE A REPLY