काठमाडौं । संसदको दोस्रो ठूलो दल नेकपा एमालेको विधान महाधिवेशन आगामी भाद्र २० देखि २२ गतेसम्म हुने निर्णय भइसकेको छ । सो विधान महाधिवेशनजति जति नजिकिदै जान्छ, त्यति त्यति ७० वर्षे उमेर हद पनि पेचिलो बन्दै गएको छ । ७० वर्ष उमेर पुगेका नेता, कार्यकर्ताले पार्टीको कुनै जिम्मेवारी लिन नपाउने नीति बनाएको हुँदा ७० वर्षे उमेर हद कायम रही रहे एमालेमा ठूलो त्याग तपस्या गरेका वरिष्ठ १८ नेताहरु अर्को महाधिवेशनमा नेतृत्वको लागि उम्मेदवार नै बन्न नपाउने भएका छन् । यस्तो अवस्थामा विधान महाधिवेशनबाट पार्टीमा ७० वर्षे उमेर हद कायम गर्ने र पार्टीको भावि अध्यक्षमा आफु उम्मेदवारी दिने तयारीमा पूर्व राष्ट्रपति भण्डारी देखिनु भएको छ । पार्टीमा उमेर हद ७० वर्षे कायम गर्ने र एउटै व्यक्ति मूल नेतृत्वमा दुई कार्यकालभन्दा बढी दोहोरिन नपाउने निर्णय गराएपछि वर्तमान पार्टी अध्यक्ष रहनु भएका केपी शर्मा ओली स्वतः बाहिरिनुपर्ने हुँदा सो ठाउँमा आफुले दावी गर्न मिल्ने र भावी अध्यक्ष आफु हुन पाउने सोचमा भण्डारी देखिनु भएको छ । यता अध्यक्ष ओली भने आफू तेस्रो पटक अध्यक्षमा तेहेरिने अवस्था नआएमा विधान महाधिवेशनबाटै त्यस्तै अवस्था हटाउने र आफु तेस्रो पटक अध्यक्ष बन्ने मनस्थितिमा रहनु भएको बुझिन्छ । तर यो विषयमा कुनै सार्वजनिक अभिव्यक्ति भने दिनुभएको छैन ।
अघिल्लो हप्ता पूर्वराष्ट्रपति भण्डारीले अध्यक्ष ओलीलाई प्रधानमन्त्री निवासमै भेटेर आफु एमाले राजनीतिमा सक्रिय हुँदै गरेको बताउनु भएको छ । भेटमा एमालेमा आफ्नो पसिना बगेको र लामो समय योगदान गरेको बताउँदै आफु राजनीतिमा सक्रिय हुने चाहना व्यक्त गर्नुभएको छ । भण्डारी निकट एक नेताले भने ‘अध्यक्ष र पूर्वराष्ट्रपति बीच डेढ घण्टा लामो कुराकानी भयो, विद्या भण्डारीले पार्टीमा देखिएका समस्या समाधान गर्न आफु सक्रिय राजनीतिमा आउन लागेको बताउनुभयो ।’
एमालेमा विधान महाधिवेशन नजिकिदै गएसँगै ७० वर्षे उमेर हदबारे खुबै चासो बढेको छ । विधान महाधिवेशनबाट ७० वर्षे उमेर हद बारे एमालेले कस्तो नीति लिन्छ भन्ने बारेमा नेता कार्यकर्ता र शुभचिन्तकमा कौतुहलता बढ्दै छ । ७० वर्षे उमेर हद कायम नरहेमा ओलीले दाबी गर्ने भण्डारी पक्ष र ओली पक्षका नेताहरु प्रष्ट रुपमा दुई कित्तामा छुटिने सम्भावना पनि त्यतिकै देखिन्छ । एमालेका केही स्वतन्त्र नेताहरु९ओली र विद्याको पक्ष विपक्षमा खुलेर नलागेका० भने अध्यक्षज्यूले दुई कार्यकाल पार्टी अध्यक्ष सम्हाली सक्नुभएकाले अब नयाँ पुस्तालाई पद हस्तान्तरण गरेर आफुले पार्टीको अभिभावकत्व लिनु भए धेरै राम्रो हुने मनसाय सुदामा साप्ताहिकलाई व्यक्त गर्दछन् । ‘एमालेमा ओली मात्र सक्षम नेता छैनन् । उनी लगायत १८ जना नेता एक से एक छन् । पालो सबैले पाउनुपर्दछ, किनकी पार्टीमा त्याग तपस्या सबैको उतिकै छ । अहिले पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आउनु भएको छ । भण्डारी वा अरु नै पार्टीमा त्यागी देखिएका नेताहरु मध्ये सहमतिमै एक जनाले पार्टीको नेतृत्व लिनु पर्दछ । यो नै एक राम्रो उपाय हो ।’ एमालेका एक शुभचिन्तकले भने । प्रधानमन्त्री ओलीले आवश्यकताका आधारमा उमेर हद नलाग्ने मनसाय व्यक्त गरेपछि यो विचार आएको ती शुभचिन्तकले बताए ।
अहिले एमालेभित्र र बाहिरको एउटा समूहले भण्डारीको नेतृत्वमा बामएकता गर्न सकिने बताएको छ । तर विधान महाधिवेशन अगाडि ओली र भण्डारीबीच व्यापक छलफल हुन सक्छ । भण्डारी निकट एक नेताले भने । ओलीले गत जेठ २५ गते कीर्तिपुरमा अनेरास्ववियूको महाधिवेशन उद्घाटन कार्यक्रममा आफू ७४ वर्ष हुँदा पनि पार्टी अध्यक्ष भइरहेको र ७० वर्षे उमेर हद फेल खाएको अभिव्यक्ति दिनु भएपछि एमालेमा उमेर हद र नेतृत्व परिवर्तनको बहस झन् प्रमुख बन्दै गएको छ । २०७८ असोजमा सम्पन्न भएको पहिलो विधान महाधिवेशनले पार्टी विधानको धारा ८९ मा सबै तहको कार्यकारी कमिटि पदाधिकारी र सदस्यहरुमा निर्वाचित वा मनोनित हुन ७० वर्ष उमेर पुरा नभएको हुनुपर्ने व्यवस्था गरेको थियो । तर अहिले त्यो व्यवस्था हटाउन जोढबल गरिन थालिएको छ ।









