बोली र व्यवहार मिलाऊ

सम्पादकीय

हाम्रा राजनीतिक दलका नेता तथा सरकारको नेतृत्व गर्ने पार्टीले बोलेका कुराहरु गरी नपुर्याउँदा र आन्तरिक कलहमा मात्र रुमलिईरहँदा मुलुकलाई समृद्धिको ढोका टेक्न निकै हम्मे हम्मे भइरहेको छ । दलहरु जे बोल्दछन् त्यो गर्दैनन् । जुन कुरा गर्दैनन् त्यो कुरा बोल्छन् । जस्तो, मुलुकमा समृद्धि ल्याउनका लागि युवा विदेश पलायन रोकिनु पर्दछ, परनिर्भरता घटाउँदै लग्नु पर्दछ । देशका प्राकृतिक सम्पत्तिहरुको हर सम्भव धेरै सदुपयोग गरी त्यसबाट अधिकतम लाभ लिनु आवश्यक छ भन्ने रटान गरे पनि त्यो व्यवहारमा लागु हुन सकेको छैन । विद्यार्थीहरु कक्षा १२ उत्तीर्ण गर्दै विदेश पलायन भइरहेका छन् । शैक्षिक बेरोजगारी बढ्दै गएका कारण शिक्षित समुदाय समेत सस्तो ज्यालामा श्रम गर्न विदेश पलायन भइरहेका छन् । विद्यार्थी कमाउँदै पढ्दै गर्न विदेसिदा वर्षैपिच्छे करोडौं रुपैयाँ विदेश गइरहेको छ । अन्य उपभोग्य सामानहरु पनि निर्यातको चौगुणा आयात भइरहेको अवस्था छ । अन्य उपभोग्य रेमिट्यान्सले मात्र देशमा समृद्धि आउँदछ त रु सो कदापरी सम्भव छैन । त्यसैले नेताहरुले जे बोल्छन् त्यसलाई व्यवहारमा तुरुन्तै लागू गर्ने प्रवृत्तिको विकास गर्न जरुरी छ ।
नेताहरु भ्रष्टाचार नियन्त्रण गर्नु पर्दछ, यूवा पलायन रोक्नु पर्दछ । परनिर्भरता घटाउनु पर्दछ भन्ने जस्ता कुराको रटान गरिए पनि त्यो व्यवहारमा लागू गरिएको छैन । जुन कुरा विडम्बनापूर्ण छ । त्यस्तै दलका नेताहरु आआफ्नो पार्टीमा शक्ति जम्मा गर्नुपर्दछ, पार्टी एकता गर्नुपर्छ, भन्ने गर्दछन् तर पार्टी भित्रको अन्तर कलहले थलिने गरेका छन् । जनअपेक्षित कामहरु गर्न सकेका छैनन् । आफ्नो दल र आफु निकटका व्यक्तिलाई मात्र अवसर दिने विभेदपूर्ण कार्यले मुलुक अगाडि बढ्न सकेको छैन । अन्तरकलहको मुख्य असर देशको समृद्धि यात्रामा परेको छ । यो असरलाई रोक्न नितान्त आवश्यक देखिएको छ ।

LEAVE A REPLY