प्रसूतिगृह नेपालको स्वास्थ्य क्षेत्रको विकासको साक्षी हो ः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल प्रसूतिगृहनेपालको स्वास्थ्य क्षेत्रको विकासको साक्षी भएको बताउनु भएको छ । प्रशुती गृह लाखौँ आमा र शिशुको जीवनसँग जोडिएको राष्ट्रिय धरोहर भएको उहाँको भनाई छ ।
६६औँ वार्षिकोत्सवका अवसरमा मन्त्री पौडेलले नियोनेटल स्क्रिनिङ र मिल्क बैंकजस्ता कार्यक्रमले नवजात शिशुको मृत्युदर घटाउन महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले हालै ल्याइएका निःसन्तान उपचार मापदण्ड कार्यान्वयनमा पुनःस्थापित आइभिएफ सेवाले अग्रणी भूमिका खेल्ने पनि बताउनु भयो ।
उहाँका अनुसार आगामी दिनमा अस्पतालमा थप ११ शय्या गरी ५०० शय्या पुर्याइनेछ । साथै, काठमाडौंका दुई नगरपालिकामा २५÷२५ शय्याको स्याटेलाइट प्रसूति अस्पताल स्थापना गर्ने तयारी गरिएको छ । स्त्रीरोग, आमा तथा शिशु सुरक्षा कार्यक्रमलाई स्वास्थ्य बीमा कार्यक्रमसँग जोडिने पनि मन्त्री पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रममा अस्पतालका निर्देशक डा.श्रीप्रसाद अधिकारीले स्त्रीरोगसम्बन्धी दुरबिन शल्यक्रिया, गर्भवती मानसिक स्वास्थ्य ओपीडी तथा फेटल–मेटर्नल इको सेवाले रिफरल दर घटाएको बताउनु भयो । । उहाँका अनुसार गत आर्थिक वर्षमा करिब २१ हजार सफल प्रसूति गराइयो भने बाहिरङ्ग विभागबाट दुई लाख ३३ हजारभन्दा बढीले सेवा लिए
त्यस्तै, ८ हजार ६९३ जना निःसन्तान सेवाग्राहीले ओपीडीमार्फत सेवा लिएका थिए । २९८ जनाले आइयुआई सेवा र ४३ जनाले आइभिएफ सेवा प्राप्त गरेका छन् । हालसम्म करिब दुई हजार नवजात शिशुको ‘नियोनेटल स्क्रिनिङ टेस्ट’ गरिएकामा २० जनामा रोग पहिचान गरी उपचार गरिएको अधिकारीले जानकारी दिनु भयो ।

LEAVE A REPLY