काठमाडौं । कुनै बेला अशोक राई र राजेन्द्र महतोलाई नेपाली राजनीतिमा हस्तिको रुपमा लिने गरिएको थियो । तर यतिबेला उनीहरु दुवै पार्टीको नेतृत्वमा रहे पनि चर्चा भने त्यति छैन । यही क्रममा अशोक राई नेतृत्वको जसपा र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबीच कार्यगत एकता भएको छ ।
केही दिन अघि राजधानीमा आयोजित कार्यक्रममा जसपा अध्यक्ष राई र राष्ट्रिय मुक्तिका अध्यक्ष महतोले कार्यगत एकताको घोषणा गरे । घोषणामा दुवै पार्टीका अध्यक्षले हस्ताक्षर गरेका छन् ।
घोषणा सभामा संगठनात्मक संरचना, सञ्चालन विधि, उद्देश्य तथा प्रतिबद्धताका साथै आचारसंहिता पनि जारी गरिएको छ । केन्द्रीय तहमा संयोजन समिति रहनेछ । जसमा दुवै पार्टीका अध्यक्ष सहित सात–सात जना सदस्य रहने छन् । समितिमा कम्तीमा दुई जना महिला अनिवार्य हुने सहमति छ । केन्द्रका साथै प्रदेश र स्थानीय तहमा पनि संयोजन समिति रहनेछ । प्रदेशमा पाँच–पाँच सदस्यीय र स्थानीय तहमा तीन–तीन सदस्यीय संयोजन समिति गठन हुनेछ । बैठकको अध्यक्षता आलोपालो गर्ने सहमति छ ।
नेताहरुले पार्टी एकताको पूर्णतयारीका रुपमा अथ्र्याएका छन् । महतोले देशमा एकल नश्लीय प्रवृत्तिका कारण अहिलेको व्यवस्था सबै नागरिकको बन्न नसकेको दावी गरे ।








