तीज पर्वको महत्व

सम्पादकीय

आज महिलाहरुको विशेष पर्व अर्थात हरितालिका तीजको दिन हो । देशभरका हिन्दु महिलाहरुले हिजोद्वितीयाको दिन दर खाएर आज ब्रत बसी शिवालयहरुमा भगवान शिवजीको स्तुती गरीरहेका छन् । निराहार मात्र होइन मुखमा पानी समेत नहाली व्रत बसिरहेका छन् । भोक तिर्खा बिर्सन महिलाहरु रातो साडी लगाएर मनमिल्ने साथीसंगीहरुसँग तीजका बारेमा रचित कालजयी गीतहरु गाउँदै नाँच्दै गरिरहेका छन् ।
यो पर्व देवी देवताकै पालादेखि मनाउँदै आएको पर्व हो । यो पर्व आफूले चाहे अनुसारको बर पाउने, पति सुख मिल्ने, पतिको आयु लम्ब्याउने जस्ता मान्यता र धार्मिक विश्वासका आधारमा मनाउने गरिन्छ । देवताका पालामा पनि पार्वतीले शिवजी जस्ता महापुरुषलाई पतिका रुपमा पाउनको लागि आजकै दिनमा( तिथिमा) मुखमा पानी समेत नहाली ब्रत बसेर शिवजीसँग विवाह गर्न पाएको वैदिक पुराणहरुमा उल्लेख गरेको पाइन्छ । त्यसैको अनुसरण गर्दै आज महिलाहरु व्रत बसिरहेका छन् ।
कुमारी कन्याले तीजको व्रत बसे आफुले चाहेको केटासँग विवाह गर्न पाइने, दाम्पत्य जीवन सुखसँग बित्ने, पतिको आयु लामो हुने जस्ता धार्मिक विश्वास रही आएको छ । त्यसैगरी विवाहित तथा सधुवा महिलाहरुले तीजको व्रत लिँदा पतिको आयु बढ्ने पतिपत्निबीच मायाँ प्रेम प्रगाढ बन्दै जाने लगायतका फल मिल्ने जन विश्वास रही आएको छ । त्यसैगरी विधुवा महिलाहरुले तीजको व्रत लिँदा स्वर्गीय पतिको आर्शिवाद पाइने, पतिलाई स्वर्गमा शान्ति मिल्ने जस्ता जनविश्वास रही आएको छ । सोही अनुसार युवतीदेखि, वृद्धासम्मका हिन्दु महिलाहरुले तीजको ब्रत बस्ने गरेका छन् । तीजको व्रत बसेका महिलाहरुले ऋषि पञ्चमीका दिन ऋषिहरुको स्तुती र पूजापाठ गरेर व्रतलाई बिसर्जन गर्दछन् ।
तीज पर्वको महत्व यतिमा मात्र सिमित रहेको छैन । अन्य महत्व पनि रहेका छन् । जस अनुसार महिलाहरु माइत–मावल जाने, दर खाने, माइतीसँग दुःख सुखका कुरा गर्ने, साथीसंगीसँग मिलेर नाचगान गर्ने, जस्ता क्रियाकलापहरु गर्ने गर्दछन् । जस्ले टाढीन लागेको सम्बन्ध प्रगाढ बन्ने , माया मोह बढ्ने लागायतका कृयाकलाप हरु हुने गर्द छन्।अहिले जेसुकै कुरामा पनि विकृतिहरु आउने गरेका छन् । महिलाहरुको पर्व तीजमा विकृति आउँदा, तीज आउन १५ दिन अघिदेखि नै पार्टी प्यालेसहरुमा भोजभतेर गरेर रमाइलो गर्ने गर्दछन् । यसले जागिर खाने वा व्यवसायी महिलाहरुलाइ सहज भए पनि अन्य महिलाहरुलाई आर्थिक अभावका कारण अरुले जस्तै रमाइलो गर्न नपाउँदा निराश र खिन्नता बढाउँछ । यो हुनु भनेको पर्व भुलाउने विकृति हो । खासमा तीजको दर खाने र रमाइलो गर्ने भनेको भाद्रको औंसीका द्वितीया को दिन हो । त्यसैले आगामी तीज पर्वहरुमा सम्बन्धित निकायले तीजका नाममा हुने विकृति विसंगती हटाउने प्रयत्न गर्नु पर्दछ ।

LEAVE A REPLY