यातायात व्यवस्था विभागले असोज १ गते देखि इमबोस्ड नम्बर प्लेट जडानलाई व्यापकता दिने

काठमाडौँ, भदौ १६ गते । यातायातव्यवस्था विभागले असोज १ गतेदेखि मुलुकको थप सात वटा कार्यालयबाट सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान सुरु गर्ने भएको छ । विभागले असोज १ गतेदेखि सवारी दर्ता, नामसारी र नवीकरणमा इम्बोस्ड अनिवार्य गरेसँगै सेवा केन्द्र पनि थप्न लागेको हो ।
यातायात व्यवस्था विभागका निर्देशक श्रीकान्त यादवले आगामी असोज १ गतेदेखि देशका थप सात कार्यालयबाट सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान सुरु गरिने तयारी गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार असोज १ गतेदेखि बागमती प्रदेशको यातायात व्यवस्था कार्यालय, चितवन, सुदूरपश्चिमको यातायात व्यवस्था कार्यालय धनगढी र कञ्चनपुरबाट इम्बोस्ड जडान सुरु गरिने छ ।
त्यसै गरी मधेश प्रदेशको यातायात व्यवस्था कार्यालय, लहान र यातायात व्यवस्था कार्यालय, वीरगन्ज, कोशीको यातायात व्यवस्था कार्यालय, इटहरी र झापाको यातायात व्यवस्था कार्यालय बिर्तामोडबाट सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान थालिने उहाँले जानकारी दिनुभयो । अहिले मुलुकको विभिन्न नौ वटा यातायात व्यवस्था कार्यालयबाट इम्बोस्ड नम्बर प्लेट जडान हुँदै आएको छ ।
विभागका अनुसार अहिले बागमती प्रदेशको यातायात व्यवस्था कार्यालय एकान्तकुना ललितपुर, यातायात व्यवस्था सेवा कार्यालय हेटौँडा मकवानपुर र यातायात व्यवस्था कार्यालय गुर्जुधारा र सवारी परीक्षण कार्यालय टेकुमा इम्बोस्ड नम्बर प्लेट जडान भइरहेको छ ।
त्यसै गरी गण्डकी प्रदेशमा यातायात व्यवस्था कार्यालय कास्की पोखरा, लुम्बिनीमा यातायात व्यवस्था कार्यालय रुपन्देही बुटवल, दाङ तुल्सीपुर र बाँके नेपालगन्ज र कर्णाली प्रदेशमा यातायात व्यवस्था कार्यालय सुर्खेतबाट जडान भइरहेको छ ।

 

LEAVE A REPLY