अध्यक्ष ढकालद्वारा कतारका समकक्षी अलथानी सँग भेट, कतारी लगानी नेपालमा गर्न आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले कतारका समकक्षी शेख खालिफा विन जासिम विन मोहम्मद अल थानीसँग भेटवार्ता गरी कतारी लगानि नेपालमा गर्न आग्रह गर्नु भएको छ ।
भेटवार्ताका क्रममा नेपाल र कतार बीच आर्थिक तथा व्यवसायिक सम्बन्ध सुदृढिकरण तथा आपसी सहकार्यका विषयमा छलफल भएको बताइएकोछ । सो अवसरमा नेपाल–कतार संयुक्त व्यापार परिषद् जेबीसी को आगामी बैठक छिट्टै काठमाडौंमा आयोजना गर्ने सहमती भएको महासंघका अध्यक्ष ढकालले जानकारी दिए ।
उनले नेपाल–कतार संयुक्त व्यवसाय परिषद् जेबीसी दुवै देशबीच व्यापार तथा लगानी प्रवद्र्धनको महत्वपूर्ण संयन्त्र बनेको उल्लेख गर्दै यसलाई अझ सशक्त बनाउन सदस्य सूचीलाई शीघ्र अन्तिम रूप दिनुपर्नेमा जोड दिए ।
नेपाल–कतार संयुक्त व्यापार परिषद् जेबीसी स्थापनामा कतारको सहयोगको प्रशंसा गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीका प्रशस्त अवसरहरू रहेकोले कतारी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरे ।
“नेपालमा धेरै क्षेत्रमा लगानीको अवसर छ । म कतारी लगानीकर्ताहरुलाई जलविद्युत, सौर्य ऊर्जा, सूचना प्रविधि, फिनटेक तथा कृषि–आधारित उद्योगमा लगानीको लागि आग्रह गर्दछु ।” उनले भने । ढकालले महासंघले अघि बढाइरहेको डिजिटल रूपान्तरणलाई जोड दिँदै यस क्षेत्रमा कतार चेम्बरसँगको सहकार्य महत्वपूर्ण हुने उल्लेख गरे । उहाँले एआई–आधारित व्यवसायिक सुविधा उपकरण, ब्लकचेन–आधारित व्यापार कागजीकरण प्रणाली, तथा व्यवसाय मिलान र लगानी प्रवद्र्धनका लागि डिजिटल प्लेटफर्महरूमा ज्ञान आदानप्रदान गर्ने प्रस्ताव गरे ।
भेटका अवसरमा कतार चेम्बरका अध्यक्ष शेख खालिफा विन जासिम विन मोहम्मद अल थानीले नेपाल–कतार संयुक्त व्यवसाय परिषद् जेबीसी संयन्त्रलाई अन्तिम रूप दिई थप प्रभावकारी बनाइने बताए । यस्तै उनले नेपालसंग आर्थिक तथा व्यवसायिक सम्बन्ध सुदृढ गर्न आफ्नो तर्फबाट पहल गर्ने र भेटघाट तथा छलफललाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेको अध्यक्ष ढकालले जानकारी दिए ।
यसैबीच महासंघका अध्यक्ष ढकालले कतार चेम्बर र कतारी व्यवसायिक समुदायलाई सन् २०२६ को फेब्रुअरीमा काठमाडौंमा आयोजना हुने नेपाल अन्तर्राष्ट्रिय आर्थिक शिखर सम्मेलन एनआईईएस मा सहभागी हुन पनि आमन्त्रण गरे । दुई देशबीचको आर्थिक सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले सम्मेलनमा विशेष “कतार केन्द्रित लगानी सत्र” आयोजना गर्ने तयारी भएको उहाँले जानकारी दिए ।

 

 

LEAVE A REPLY