अर्जुन प्रसाद काफ्ले
दशैंको मुखैमा भएको जेनजीहरुको आन्दोलनका कारण राष्ट्र तथा नीजि सम्पत्तिमा खर्बौको क्षति पुगेको छ । ७२ जनाभन्दा बढीको मृत्यु तथा पाँच सय नजिक नागरिक घाइते भएका छन् । करिब ५ दिनसम्म भएको कर्फूय र बन्दले उद्योग, व्यापारी, व्यवसायी, सर्वसाधारण सबैमा नैराश्यता प्रकट भएको छ । यसलाई सम्बन्धित निकायले र आफैं पनि हटाउन आवश्यक छ । मरिएका र घाइते भएका अनि क्षति भएकाको गतिविधि नियाल्दा कसैको पनि मन त खुशी हुँदैन । तर सँधै चिन्तित भएर पनि हुँदैन । चिन्ताले जिउँदै जलाउँछ, चिताले मृत्यु पश्चात जलाउछ भन्ने यथार्थतालाई वेवास्ता गर्नु हुँदैन ।
नेपालीहरुको सबैभन्दा ठूलो चाड दशै नजिकिईरहेको छ । अबको १७ दिन पछि त दशै नै बिदा भई तिहारको रौनक बढ्न थाल्छ तर बाढी पहिरोका कारण मित्र राष्ट्र चीनसँगको नाका बन्द रहेको र जेन्जी आन्दोलनले बजार तहस नहस भएकाले दशैं सुन सान बन्ने चिन्ता बढ्दै गएको छ । बाढी पहिरोकै कारण रसुवाको लेन्दे खोलामा असोज २४ गते राति बाढी आउँदा रसुवा नाका पनि बन्द भएको छ । यसले गर्दासाना ठूला व्यापारी मारमा परेका छन् । मारकैबीच जेन्जी आन्दोलनका क्रममा पसलमा लुटपाट र आगजनिले व्यापारी थप मारमा परेका छन् । बजारमा समस्या थपिएको छ । त्यस्तै वर्षाका कारण भत्किएका र बिग्रिएका सडक अझैसम्म मर्मत भई नसक्दा दशैंमा घर जान समस्या पर्ने देखिएपछि यात्रुहरुमा समेत थप चिन्ता प्रकट हुन थालेको देखिन्छ । व्यापारीहरुले छिमेकी मुलुकबाट लत्ताकपडा लगायतका उपभोग्य वस्तुहरु आयात गर्न नपाउँदा उपभोग्य वस्तुको मूल्य आकासिने चिन्त समेत सर्वसाधारणमा पर्न थालेको छ । यी सबै समस्याको समाधान सम्बन्धित निकायले गरी आम जनताको मनमा उत्साह बढाउन ढिलो भईसकेको छ ।
यसैबीच आफ्ना ग्राहकहरुलाई नूनदेखि सुनसमको सेवा दिइरहेको भाटभटेनी सुपरमार्केटले भने आगजनी र लुटपाटबाट भएको क्षतिको सामना गर्दै १५ वटा भन्दा बढी शाखा सञ्चालनमा ल्याएको छ । तर निम्न आय भएकालाई भने यो सुपरमार्केट क्षमता बाहिर पर्छ । त्यसैले अरु सामान्य क्वालिटिका र सस्ता उपभोग्य सामान पाइने बजारको सञ्चालन छिटो खुलाउन जरुरी भएको छ । भाटभटेनीमा सामान पनि गुणस्तरीय र सोही अनुसार मूल्य पनि सामान्य बजारमाभन्दा महँगो हुने गरेको छ ।









