काठमाडौँ, असोज २७ गते । फ्लोरीकल्चर एसोसिएसन नेपाल( फ्यान )का अध्यक्ष राजेश भक्त श्रेष्ठले यसपालिको तिहारमा काठमाडौँ उपत्यकामा ४० करोड रुपियाँ बराबरको पैतालिस लाख वटा सयपत्री र मखमलीको माला खपत हुने अनुमान गरिएको बताउनु भएको छ ।
तिहारको लक्ष्मीपूजाको दिनदेखि भाइटीकासम्म उपत्यकामा ठुलो सङ्ख्यामा मालाको खपत हुने उहाँको भनाई छ ।
सयपत्री र मखमली मालामा मुलुक आत्मनिर्भर भएको उहाँले जानकारी दिनुभयो । तिहारमा लक्ष्मीपूजा गर्न, घर सजाउन र भाइटीका लगाउन सयपत्री मालाको खपत धेरै हुने गर्छ ।
मखमली मालाले स्थानीय माग पूरा गरेर विदेशमा समेत निर्यात हुने गरेको छ । विदेशमा रोजगारीका क्रममा नेपाली रहेकाले तिहारमा दुई लाख मखमली माला निर्यात हुने गरेको श्रेष्ठले जानकारी दिनुभयो । प्रत्येक वर्ष दुई लाखभन्दा बढी मखमली माला विभिन्न मुलुकमा निर्यात हुने उहाँले जानकारी दिनुभयो ।
युरोप, अमेरिका, खाडी मुलुकमा मखमली माला निर्यात हुने गर्छ । यसपालि बजारमा सयपत्री प्रतिगोटा मालाको थोक मूल्य ८० रुपियाँदेखि एक सय रुपियाँसम्म रहेको छ । यस्तै मखमली मालाको थोक मूल्य ४० देखि ४५ रुपियाँसम्म रहेको छ ।
प्रतियोगितात्मक प्रदर्शनी हुनेः
यसैबिच आगामी बुधबारदेखि अठारौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुने भएको छ ।
पुष्प व्यवसायको प्रवर्धन र बजार विस्तार गर्ने उद्देश्यले तिहारलक्षित फ्यानको आयोजनामा ललितपुरको जावलाखेल मैदानमा प्रदर्शनी हुन लागेको हो । मेलामा ९० वटा स्टल राखिने छ । गोदावरी फूलको विविध प्रतिस्पर्धा गराई पुरस्कृत गरिने कार्यक्रम रहेको छ । प्रदर्शनीमा गोदावरी फूलको प्रजातिका फूल बिरुवासहित ४२० भन्दा बढी प्रकारका फूल बिरुवा राखिने छ । सयपत्री, मखमली तथा अन्य सिजनल फूलका साथै सजावटका बोटबिरुवासमेत प्रदर्शनीमा बिक्रीवितरण हुने गर्छ ।
प्रदर्शनीमा ४० हजारभन्दा बढीले प्रत्यक्ष अवलोकन गर्ने र एक करोड ३० लाख बढीको व्यावसायिक कारोबार हुने अनुमान गरिएको छ । फ्यानले प्रत्येक वर्ष तिहारका बेला मेला आयोजना गर्ने गरेको छ । मेला आगामी कात्तिक २ सम्म चल्ने छ ।









