काठमाडौँ ।राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित वातारणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष निर्वाचन हुन्छ भन्ने विश्वास दिलाउने वातावरण बनाउन सरकार र सुरक्षा निकायका प्रमुखलाई आग्रह गरेका छन् ।
राष्ट्रपति भवन शितल निवासमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरूको सहभागितामा भएको छलफलमा चारै सुरक्षा निकायका प्रमुखलाई राष्ट्रपति पौडेलले राजनीतिक दल र आमनागरिकलाई चुनावबारे आश्वस्त बनाउन आग्रह गरेका हुन् ।
उनले शान्तिसुरक्षा कायम गर्न र भयरहित वातावरणमा निर्वाचन गराउन सुरक्षा निकायले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । राष्ट्रपति पौडेलले भदौ २४ गते लुटिएका हतियार र भागेका कैदीबन्दी सबैलाई अविलम्ब फिर्ता गर्न आग्रह गरे ।
अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउन सरकारले कुनै कसर बाँकी नराख्ने बताए । उनले पूर्ण तयारी र सुरक्षा निकायलाई चाहिने सम्पूर्ण साधनस्रोत उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए ।
सुरक्षा निकाय प्रमुखहरूले शान्तिसुरक्षा कायम गर्ने र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सुरक्षा निकाय सक्षम रहेकाबारे आश्वस्त पारेका थिए ।








