गृहसचिवदंगालद्वारा देशभरका प्र.जि.अ.हरुलाइ सुशासन र नागरिक विश्वासमा जोड दिन निर्देशन
काठमाडौं । गृहसचिव रामेश्वर दंगालले देशभरका ७७ वटै प्रमुख जिल्ला अधिकारीहरुलाई प्रशासनिक कामदेखि जनसेवासम्मका विषयमा विस्तृत निर्देशन दिएका छन्। आइतबार सचिवस्तरीय निर्णयमार्फत पठाइएको उक्त निर्देशन ११ शीर्षकमा विभाजित छ ।
निर्देशनमा शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन, नियमन, समन्वय र सार्वजनिक सेवा प्रवाहमा सीडीओहरूले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिइएको छ। सचिव दंगालले जिल्ला प्रशासनलाई नागरिकको सरकारप्रतिको विश्वास बढाउने केन्द्रका रूपमा परिचालन गर्न आग्रह गरेका छन्।
निर्देशनका अनुसार शान्ति सुरक्षा शीर्षकमा ९ बुँदा, अपराध नियन्त्रणमा ३ बुँदा, निर्वाचन व्यवस्थापनमा ५ बुँदा र सुशासन तथा प्रभावकारी सेवा प्रवाह शीर्षकमा १० बुँदा समावेश छन्। त्यस्तै, विकास व्यवस्थापन, कारागार प्रशासन, विपद् व्यवस्थापन, आपूर्ति प्रणाली, अनुगमन तथा निरीक्षण, कार्यक्रम सहभागिता र विविध शीर्षकमा समेत निर्देशन दिइएको छ।
गृह मन्त्रालयका अनुसार, यी निर्देशनहरू उपसचिव रविन्द्र आचार्यमार्फत सबै जिल्ला प्रशासन कार्यालयमा पठाइएका हुन्। मन्त्रालयले निर्देशनलाई आगामी प्रशासनिक कार्यसम्पादनको मूल मार्गदर्शनका रूपमा लिने तयारी गरेको छ। गृहसचिव दंगालको निर्देशनले स्थानीय प्रशासनलाई शान्ति सुरक्षा, सुशासन र सेवा प्रवाहमा बढी जिम्मेवार र जवाफदेही बनाउने उद्देश्य लिएको छ।








