काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनजी आन्दोलनलाई आफ्नो राजनीतिक हितसँग जोड्दै “जेनजी र माओवादी मिलेर चुनाव लड्नुपर्छ” भन्ने वक्तव्य दिएपछि उनले जेनजीको बैशाखी टेकेर फाल्गुन २१ गते हुने निर्वाचन पछि सरकारको तेतृत्व लिने दाउ गरेका हुनकी भन्ने सर्वत्रमा संशय उत्पन्न शुरु भएको छ ।उनले जेनजी पुस्ताले आफ्नो संपत्ति खरानी पार्दा पनि त्यस प्रति कुनै पर्वाह नगरी जेनजीकै पक्षमा वकालत गर्दै आएका छन् । यसले पनि प्रस्ट हुन्छ कि राजनीतिका चतुर खेलाडी प्रचण्डले भावी सरकारको नेतृत्व गर्न खोजेका हुन् भनेर ।
रामगोपालपुरमा आयोजित कार्यक्रममा उनले माओवादी नै जेनजीको असली मित्र भएको दाबी गर्दै, “अब जेनजी र माओवादी मिलेर चुनाव लड्नुपर्छ, त्यसैले मात्रै ती माग पूरा हुन सक्छन्,” भने। तर उनको यो प्रस्तावलाई विश्लेषकहरूले “अवसरवादी गठबन्धनको नयाँ खेल”का रूपमा व्याख्या गरेका छन्।
प्रचण्डले भाषणमा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि पुनः कटाक्ष गरे। उनले जेनजी आन्दोलनमा भएको दमनलाई ‘ओलीको अहंकारको परिणाम’ भन्दै आरोप लगाए— “यदि ओलीले राजीनामा दिएका भए २४ गतेको विध्वंस हुने थिएन। उनीहरूको दम्भ र प्रतिशोधी भावनाले देशलाई लगभग राज्यविहीन अवस्थामा पुर्यायो।”
‘जेनजीको साथः — रणनीति कि सहानुभूति?
जेनजी आन्दोलनलाई उनले ‘नयाँ जनयुद्धको रूपान्तरण’ भन्दै आफ्नो ऐतिहासिक आन्दोलनसँग तुलना गरे। “हामी पनि जनयुद्धका बेला जेनजी नै थियौं,” उनले भने। तर यो कथनले सहानुभूतिभन्दा बढी रणनीतिक सन्देश दिन खोजेको प्रष्ट देखिन्छ।
राजनीतिक विश्लेषकहरु भन्छन्,“प्रचण्डले जेनजीलाई सहानुभूतिको भाषामा होइन, राजनीतिक लाभका स्रोतका रूपमा हेरेका छन्। जनयुद्धमा युवालाई प्रयोग गर्ने र अहिले जेनजीलाई मतदाताको उर्जा बनाउन खोज्ने प्रवृत्ति एउटै हो।” त्यसैले, प्रचण्डको जेनजीप्रतिको अपिललाई आन्दोलनसँगको सहभावभन्दा बढी राजनीतिक मञ्चको पुनःस्थापना प्रयासका रूपमा व्याख्या गर्न सकिन्छ।
आन्तरिक विग्रह र जनाधार खस्कँदै गर्दा ‘नयाँ मोर्चा’ खोज्दै माओवादी
हाल माओवादी केन्द्र संगठनात्मक रूपमा कमजोर भएको विश्लेषणहरू भइरहेका छन्। पार्टीभित्रको असन्तुष्टि, युवा पुस्ताको मोहभङ्ग र पुराना कार्यकर्ताको निष्क्रियताबीच प्रचण्डले जेनजी आन्दोलनको लहर समात्न खोज्नु रणनीतिक कदम हो।








