सम्पादकिय
मुलुक अहिले परनिर्भरतामा छ । आयात निर्यातको १०औं गुणाभन्दा पनि बढी छ । आयात कम र निर्यात बढी गरेर देशलाई समृद्धशाली र जनता सुखी हुने÷पार्ने नेताहरुको खोक्रो नारा, नारामै सिमित भएको छ ।
अहिले देशमा चरम बेरोजगारी बढेको छ । विकास प्राय ठप्प जस्तै छ । नेपालमा सरकारी जागिर पाउने भनेको पहुँचवालाले मात्र हो । योग्य र सक्षम छायँमा परेका छन् । नेपालमा रोजगारीको कुनै सम्भावना नभएपछि बाँच्नकै लागि पनि विदेशिनु पर्ने र उतै पलायन हुनुपर्ने अवस्था छ । नेपालको शिक्षा व्यवहारिक र प्रयोगात्मक हुनुपर्नेमा त्यस्तो नभएर सैद्धान्तिक मात्र भएको छ । जसले गर्दा पनि सैद्धान्तिक शिक्षा हासिल गर्नेहरुले बेरोजगारी बस्नु परेको र सरकारी जागिरमा बढी आशक्त हुनुपरेको अवस्था छ । व्यवसायिक र व्यवहारिक शिक्षा प्रणाली सशक्त रुपमा लागू नगरेसम्म बेरोजगारी घट्नेभन्दा बढ्दै जाने देखिन्छ ।
एकातिर अवस्था यस्तो दयनीय छ भने हरेक दश–दश वर्षको अन्तरालमा आन्दोलन हुने र त्यस आन्दोलनले देशमा जनताको आर्थिक अवस्था सुधार्ने भन्दा पनि व्यवस्थामा परिवर्तन ल्याउने र देशका भौतिक संरचनामा क्षति पुर्याउने प्रवृत्तिले देशलाई झनै कंगाल बनाउने गरेको छ । ज्वलन्त उदाहरणका लागि गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको क्षति र राजनीतिक उथलपुथललाई लिन सकिन्छ । यस उथलपुथलमा खर्बौका भौतिक संरचना खरानी भए, सयौं घाइते भए ८० जनाको हाराहारीमा अनाहकमा ज्यान गयो । निर्वाचितप्रतिनिधिले सत्ताको बागडोरबाट बाहिरिनु पर्यो र अन्य स्वतन्त्र निकायबाट आएका व्यक्तिहरुबाट राज्य सञ्चालन भइरहेको छ । जुनकुरा सबैलाई अवगत नभएको विषय होइन । विकास गर्ने बजेटले पुनः निर्माण र भरणपोषणमा खर्च गर्नुपरेको छ । अनि कहिले हुनु देशको विकास र कहिले पाउनु स्वदेशमा रोजगारी ।
अन्तर्राष्ट्रिय विमानस्थलमा दिनैपिच्छे विदेश जानेहरुो भीड देख्दा देशनै रित्तिए झै लाग्दछ । ती सबै जीविकोपार्जनकै लागि विदेश गईरहेका छन् । यो क्रियाकलापले स्वदेशमा नागरिक रित्तिने र पैसा समेत बाहिरिने गरेको तितो यथार्थ छ त्यसैले बाँच्नकै लागि विदेशिनुपर्ने अवस्थाको अन्त्य गर्न नागरिकलाई योग्य बनाउने र उनीहरुको क्षमता अनुसारको काम–दाम दिएर विदेश पलायन हुनबाट रोक्न आवश्यक छ । स्वदेशमा भविष्य नदेखेका यूवालाई भविष्य देख्नेगरी काम गर्ने वातावरण बनाउन नितान्त आवश्यक छ । युवाशक्ति बाहिर पठाएवापत आएको रेमिट्यान्सले मात्रै देशलाई अग्रपंक्तिमा पुर्याउन धेरै गाह्रो छ । यो कुराको चेतना देश सञ्चालकहरुमा आओस् ।









